हिमाल दैनिक
विशालनगरस्थित सचिवालयमा शेखर र गगनबिच भेटवार्ता
Photo: Dinesh Chandra Thapaliya

नेपाली कांग्रेसका नेता शेखर कोइराला र पार्टी महामन्त्री गगनकुमार थापाबिच आइतबार भेटवार्ता भएको छ।

पार्टीभित्रको अल्पमत पक्षका नेताका रुपमा परिचित नेता कोइरालालाई भेट्न महामन्त्री थापा कोइरालाको निजी सचिवालय विशालनगरमा आइतबार बिहान पुगेका थिए।

कोइरालाका सहयोगी दिनेश थपलियाका अनुसार, कोइराला र महामन्त्री थापाबिचको नियमित भेटघाटका क्रममा दुई नेताबीच समसामयिक राष्ट्रिय राजनीतिक विषयका अतिरिक्त सहकारी ठगीको विषयलाई लिएर कांग्रेसले संसदमा जारी राखेको अवरोध र पार्टीको आन्तरिक गतिविधिकाबारेमा छलफल भएको थियो।

भेटका क्रममा महामन्त्री थापाले शनिबार मात्रै पार्टीका प्रतिनिधिहरुले राष्ट्रपति रामचन्द्र पौडेलसँग र आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसँग भएको भेटवार्ताका क्रममा भएका कुराकानीबारे कोइरालालाई जानकारी दिएका थिए।

पार्टीको १४औं महाधिवेशनमा कोइराला सभापति र थापा महामन्त्रीको रुपमा साझा टिम बनाएर अधिवेशनमा उत्रिएपनि सभापतिमा कोइराला पराजित भएर महामन्त्रीमा थापा निर्वाचित भएपछि यी दुई नेताहरुबीच राजनीतिक सहयात्राको सम्भावनाबारे विभिन्न आशंका बढ्दै गएको थियो।

अझ प्रतिनिधि सभामा संसदीय दलको नेतामा थापाले आफ्नो दाबी कायम राखेपछि कोइरालासँग सम्बन्धमा केही चिसोपन आउनुका साथै थापाले आसन्न १५औं महाधिवेशनमा सभापतिको प्रत्यासी बन्ने तयारीका साथ देश दौडाहामा लागिपरेका छन् भने १४औंको महाधिवेशनबाट सफलता हात नपरेपछि आगामी महाधिवेशनबाट पार्टी सभापतिमा पुनः निर्वाचित हुने चाहानाले कोइरालालाई पनि छाडेको छैन।

जसको कारण कोइराला र थापाबिच समूह एउटै भएर पनि नेतृत्वमा हानथापको स्थितिका कारण कतिपय उनीहरुका समर्थकहरु चिन्तित छन्।

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update