हिमाल दैनिक
प्रतिनिधि सभाको बैठक सूचनामार्फत ६ गतेका लागि सारियो

सत्ता र प्रतिपक्षी दलबीचको विवाद समाधान हुन नसकेपछि प्रतिनिधि सभाको शुक्रबारको बैठक बस्दै नबसी आइतबारका लागि सरेको छ।

देशका विभिन्न शहरस्थित सहकारीका बचतकर्ताको रकम गैरकानुनी ढंगले अपचलन र हिनामिना गरेको आरोप लागेका गोरखा मिडिया प्रालिका प्रवन्ध निर्देशक एवं वर्तमान उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताको विषयमा सत्य, तथ्य पत्ता लगाउन संसदीय छानविन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतका विपक्षी दलले संसद बैठक अवरुद्ध पारेपछि बिहिबार भिडन्तको स्थितिमा पुगेको प्रतिनिधि सभाको बैठक शुक्रबार बिहान ११ बजेको सट्टा २ बजेलाई सारिएको थियो।

विपक्षी दलहरुले राखेको मागप्रति सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री लामिछाने केही लचिलो देखिएपनि सत्ता साझेदार दल नेकपा एमाले र यसका अध्यक्ष केपी शर्मा ओली समिति गठनको विपक्षमा अडिग रहन पुगेपछि सदनको अवरोध खुलाउने प्रयास विफल हुन पुगेको थियो।

आजका लागि राखिएको बैठकपूर्व कांग्रेसले सुरुमा संसदीय दलको बैठक राखेर र त्यसपछि विपक्षमा रहँदै आएका राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी लगायतका दलका नेताहरुसँग गरेको वार्ता पश्चात संसदीय छानविन समितिको पक्षमा विपक्षी दलहरुको एक मत कायम गर्न सकेको थियो।

विपक्षी दलले राखेको मागप्रति पछिल्लो समय ओलीको आडमा रवि पनि अडिग हुन पुगेपछि आज पनि सदनभित्रको वातावरण सहज हुन नसक्ने निश्चित प्रायः थियो।

त्यहीबिचमा प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसका नेताहरुसँग समस्या समाधानको उपाय खोज्न साँझ बैठक राखेपछि सभामुख देवराज घिमिरेले आज अपरान्ह २ बजेका लागि राखेको बैठक सूचना टाँस गरी ६ गते आइतबार ११ बजेका लागि सारेका हुन्।

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update