हिमाल दैनिक
जनकपुरका 'बोनाफाइड सिटिजन' सिरोहियाविरुद्ध राज्यले प्रतिशोधपूर्ण गलत आरोप लगायोः निधि

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि लगाएको आरोप निराधार भएको दाबी गरेका छन्।

जनकपुरस्थित प्रहरी हिरासतमा रहेका सिरोहियालाई भेट्न बिहीबार जनकपुर पुगेका कांग्रेस पूर्व उपसभापति निधिले  विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै सिरोहियाको गिरफ्तारी प्रतिशोधपूर्ण रहेको र उनीमाथि लगाएको आरोप निराधार भएको जिकिर गरेका हुन्।

उनले भने, ‘कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया, जो जनकपुरकै बासिन्दा हुनुहुन्छ, जनकपुरकै बोनाफाइड सिटिजन हुनुहुन्छ, नेपाली नागरिक। तपाईहरु सबैलाई थाहा छ, मेरो घरको आमने सामनेमा (तेरे घरके सामने भन्छन् नि१) त्यस्तै छ मेरो र उहाँको घर, उहाँलाई प्रतिशोधपूर्ण तरिकाले सरकारले गिरफ्तार गरेको छ।

अनावश्यक दुःख दिएको छ। र जनकपुरमै उहाँलाई ल्याइएको छ। र अहिले उहाँ प्रहरीको नियन्त्रणमा हुनुहुन्छ। म प्रमुख रुपमा उहाँलाई नै भेट्न आएको हुँ। यहाँबाट सोझै एसपी अफिसमा म जाँदैछु। उहाँप्रति ऐक्यबद्धता प्रकट गर्न मेरो तर्फबाट, हाम्रो नेपाली कांग्रेसको तर्फबाट र सबै जनकपुरवासीको तर्फबाट उहाँलाई बताउँन कि हामी कैलास सिरोहियाको साथमा छौँ।’

उनले सिरोहियाको गिरफ्तारीमा राज्यशक्तिको दुरुपयोग भएको भन्दै थपे, ‘यो प्रतिशोधपूर्ण गिरफ्तारी हो। सरकारले तत्काल ससम्मान रिहाई गर्नु पर्दछ।’

नागरिकताको विषयमा अनुसन्धान गर्ने भन्दै राज्यले मंगलबार दलबलसहित सिरोहियालाई कान्तिपुर पब्लिकेशनको कार्यालय थापाथलीबाट पक्राउगरी उनको गृहजिल्ला धनुषा लगेको थियो। जहाँ उनलाई धनुषा प्रहरीको अनुरोधमा जिल्ला सरकारी वकिलको कार्यालयले धनुषा जिल्ला अदालतमा बुधबार उपस्थित गराउँदै पाँच दिन हिरासतमा राखि अनुसन्धान अघि बढाउन अनुमति मागेको थियो। तर, जिल्ला अदालत धनुषाले बुधबार नै उनलाई तीन दिनको हिरासत अनुमति दिएपछि उनी अहिले धनुषा जिल्ला प्रहरीको नियन्त्रणमा छन्।

गृहमन्त्रीको दुईवटा नागरिकता रहँदा एउटा बदर गर्ने निर्णय गरेको भन्दै उनले भने, ‘दुईवटा नागरिकता लिने अहिलेको गृहमन्त्रीलाई त्यतिबेला एउटा नागरिकता बदर गर्ने निर्णय गर्दैगर्दा उहाँलाई गिरफ्तारी गरिएन तर, अहिले कैलास सिरोहियालाई अनावश्यक रुपमा गिरफ्तारी गरिएको छ।’

सिरोहियामाथि लगाइएका आरोपहरु निराधार र त्रुटिपूर्ण रहेको दाबी गर्दै नागरिकता सम्बन्धी कानूनको चर्चा गर्दा पञ्चायतकालदेखि अहिलेसम्म पटक पटक कानून संशोधन भएकोमा कतिपय कानूनी र व्यवस्थापकीय त्रुटिका कारण फरक फरक देखिएको छ त्यसलाई सच्याउन कानूनले नै ठाउँ दिएको बताए।

उनले सिरोहियाको नागरिकताबारे किर्ते गरेको आरोपको प्रतिवाद गर्दै त्यो किर्ते हुँदै नभएको दाब िपनि गरे।

सहकारी प्रकरणमा छानविन समिति बनाउन कांग्रेसले माग गरेको अवस्थामा राज्यले नै रवि लामिछानेलाई निर्दोष सावित गर्न खोजेको आरोप उनले लगाए।

निधिले सरकार राज्यलाई कव्जा गर्ने नीतिका साथ अघि बढेको भन्दै शान्तिपूर्ण रुपमा आन्दोलनका कार्यक्रमलाई अघि बढाउने जानकारी पनि दिए।

 

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update