हिमाल दैनिक
प्रधानमन्त्री मोदीद्वारा पदबाट राजीनामा, तेस्रो पटक प्रधानमन्त्री बन्ने/नबन्ने टुंगो अरुकै हातमा

भारतीय लोकसभा निर्वाचनमा अपेक्षाकृत परिणाम प्राप्त गर्न विफल भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार राष्ट्रपति द्रौपदी मुर्मूसमक्ष प्रधानमन्त्री पदबाट राजीनामा पत्र बुझाएका छन्।

सात चरणमा सम्पन्न निर्वाचनको मंगलबार सम्पन्न मतगणनाको अन्तिम नतिजा आएसँगै बुधबार बिहान प्रधानमन्त्री मोदीले आफ्नो नेतृत्वमा रहेको मन्त्रिमण्डलको अन्तिम बैठक राखेर सरकारमा सहभागी सबै मन्त्रीहरुलाई धन्यवाद दिएलगत्तै प्रधानमन्त्री मोदी राष्ट्रपति भवनमा पुगेर पदबाट राजीनामा दिएको भारतीय समाचार एजेन्सीहरुले बताएका छन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजा अनुसार, भारतीय जनता पार्टीको नेतृत्वमा रहेको चुनावी गठबन्धनको पक्षमा कुल ५४३ सिटमध्ये २९२ सिट सत्ता गठबन्धनको पक्षमा आएसँगै नवनिर्वाचित संसदबाट नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्ने बाटो खुला गर्न प्रधानमन्त्री मोदीले १७औं लोक सभा भंग गर्न पनि सिफारिस गरेका छन्।
यसैबिच राष्ट्रपति मुर्मूले नयाँ सरकारको प्रधानमन्त्री नियुक्ति तथा पद तथा गोपनियताको सपथ जुन ८ शनिबार गर्ने तयारी भइरहको छ।

सन् २०१४ र ०१९ को लोकसभा निर्वाचनमा प्रचण्ड बहुमत प्राप्त गर्दै १० वर्षसम्म भारतीय सरकारको एकछत्र नेतृत्व गर्दैआएका मोदीले १८औं लोकसभा निर्वाचनमा चार सय भन्दा बढी स्थानमा जित हाँसिल गर्ने दाबी गर्दै आफ्नो नेतृत्वमा सत्ता गठबन्धनको निर्वाचन अभियान चलाएका मोदी र अध्यक्ष जेपी नड्डाको दाबीका बाबजूद भाजपाले केबल २४२ स्थानमा जित हाँसिल गर्दै पहिलो ठूलो दल भएपछि अहिले मोदीको तेस्रो पटक प्रधानमन्त्री बन्ने वा नबन्ने विषय गठबन्धनमा सहभागी दलको निर्णयमा निर्भर रहन पुगेको छ।

यसैबिच भाजपा नेतृत्वमा रहेको गठबन्धनमा सहभागी दलका नेताहरुको बैठक बस्दैछ। जसको निर्णयका आधारमा नयाँ प्रधानमन्त्रीमा तेस्रो पटक पुनः मोेदीलाई नै अघि बढाउने अथवा अन्य कुनै नेतालाई विकल्पको रुपमा अघि सार्ने भन्ने टुंगो लाग्न बाँकी नै छ।

उता मोदी नेतृत्वको गठबन्धनलाई लोकतन्त्र र संविधान विरोधी समूहको संज्ञा दिँदै चुनावी मैदानमा उत्रिएको भारतीय राष्ट्रिय कांग्रेस र यसका नेता राहुल गान्धी नेतृत्वको इण्डिया एलान्सले विगत १० वर्ष यताको चुनावी परिणाममा व्यापक सुधार गर्दै २३४ सिट हाँसिल गरेको छ।

जसमा कांग्रेसले ९९ सिट जित हाँसिल गरेको छ भने, अखिलेश यादवको समाजवादी पार्टीले ३७ तथा कोलकताकी मुख्यमन्त्री ममता बेनर्जीको पार्टीले २९ सिटमा जित हाँसिल गरेको छ। विपक्षी गठबन्धनका नेताहरुले यो चुनावमा सत्तारुढ एनडिए र यसको नेता मोदीलाई जनताले अस्विकार गरेको भन्दै मोदीको विकल्प खोज्ने तयारी सुरु गरेका छन्।

यसका लागि विपक्षी गठबन्धनका नेताहरुलाई कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेको निवासमा आजै साँझ प्रमुख नेताहरुको बैठक बस्दैछ।

 

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update