इतिहासदेखि वर्तमानसम्म आइपुग्दा नेपाली कांग्रेस, मुलुककै सबैभन्दा पुरानो र ठूलो राजनीतिक दल हो।
त्यसैले यो दलमा ८० को हाराहारीमा पुग्दै गरेका दर्जनौँ पुराना नेतादेखि उमेरले ५० को नेटो काटेपनि आफूलाई जल्दाबल्दा लोकप्रिय युवा नेता भन्न रुचाउने पदाधिकारीको लर्कोदेखि उनीहरुको पछिपछि निर्माण कार्यमा संलग्न ढलानपार्टीका सदस्यहरु जस्तै प्रतिबद्ध कार्यकर्ता र समर्थकको कमि हुने कुरै भएन।
यी कार्यकर्ता र समर्थकहरु आफ्नो पार्टी र नेताहरुप्रति जति वफादार भक्त छन् त्यति वफादारिता र भक्तिभाव सायद त्रेता युगका भगवान श्रीरामका परमभक्त हनुमानको पनि थियो वा थिएन? शंकै लाग्दछ।
किन भने, यिनै वफादार र प्रतिबद्ध नेता, कार्यकर्ताकै बलमा पार्टी नेतृत्वमा उदाउँने मात्र होइन विभिन्न निर्णायक तहमा स्थापित पनि हुँदैछन्।
त्यसमाथि दशकौंदेखि गुट, उपगुट र गुटिकामा विभिन्न नेताले जे भनेपनि अथवा गरेपनि उनीहरुका वफादार भक्तहरुले कुनै प्रश्न वा इन्तु, किन्तु, परन्तु केही नभनी अथवा नसोचि बोलीमा लोली मिलाउँछन् र आफ्नो नेताको जयजयकार गान गरिरहन्छन्।
अझै पछिल्लो समयमा बढ्दै गएको सामाजिक सञ्जालको प्रभाव र त्यसमा व्यक्त हुने सस्तो लोकप्रियतावादको बाढीले यो पार्टीमा भविश्यमा स्थापित हुन सक्ने सम्भावना बोकेका नेताहरुलाई पनि बढारिरहेको छ।
उनीहरुमा पनि जुन कुरा कार्यकर्तामाझ बोल्दा लोकप्रिय भइन्छ, र सामाजिक सञ्जालमा धेरै लाइक र कमेन्ट आउँछ त्यही कुरा बोलिदिने अथवा लेखिदिने नराम्रो रोगले गाँज्दैछ। भलै आफूले अघि सारेको विचार अथवा अवधारणाले देशको संविधान, ऐन, कानून, पार्टी विधान, नियमावली अनुरुप होस वा त्यसको ठिक विपरित, छु मतलब? जुन वास्तवमा नेताको लागि त खै कुन्नी, कांग्रेस र यो पार्टीले भन्दै आएको लोकतान्त्रिक शासन व्यवस्थाका निम्ति भने खासै शक्तिबर्दक हुने छाँटकाँट देखिएन।
उदाहरणका लागि गत फागुनमा पहिलो साता ललितपुरको गोदावरीमा सम्पन्न पार्टीको महासमिति बैठकमा यस पार्टीका उपसभापति र महामन्त्रीद्वयले पेश गरेका लिखित दस्तावेजहरुलाई लिन सकिन्छ।
भन्नका लागि उक्त भेलालाई नीति अधिवेशनको उपमा दिएपनि उक्त भेला पार्टीको तत्कालीन, मध्यकालीन अथवा दीर्घकालीन राजनीतिक, आर्थिक, शैक्षिक, कृषि, रोजगार वा औद्योगिक नीति केन्द्रित हुने भन्दा केबल रणनीति र गीति नारामा मात्रै सिमिति हुन पुग्यो।
महासमिति बैठक विशेषः कांग्रेसले विराएको बाटो र छुन नसकेको पाटो
यसका बाबजूद उक्त भेला बिना निश्कर्ष तर, सफलतापूर्वक टुंगियो। भेलामा आएका सबै विषयलाई केन्द्रीय कार्यसमितिले टुंग्याउने भन्दै सबै सदस्यहरु फर्किए।
साउन २३ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पेश भएका ११ बुँदे एजेण्डामध्ये पहिलो बुँदामा महासमितिमा पेश भएका प्रस्तावमाथिको छलफल गर्ने भन्दै बैठक चलेपनि उक्त बैठकमा पनि यी प्रस्तावका सारभूत विषय भन्दा पनि रणनीति केन्द्रित छलफल चल्न छाडेन।
बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुको गति र मति पनि किन फरक हुन्थ्यो र? आखिर सबैको हालत उस्तै छ। त्यसैले सबैको ध्यान नीति कम रणनीतिमा ज्यादा केन्द्रित भयो। त्यो पनि गुटगत आधारमा। कसैले पार्टीमा बहिर्गमनको पक्षमा मत जाहेर गरे त कसैले विपक्षमा। भलै त्यो संविधान, ऐन, कानूनसँगै विधान बमोजिम संगठनको हितमा होस् कि नहोस्, कर्णप्रिय भए पुग्यो।
कतिले महाधिवेशन ०८२ मंसिरभित्रै हुनुपर्छ र ०८४ को आम निर्वाचनमा कांग्रेस एक्लै चुनावमा जानु पर्दछ, कसैसँग चुनावी तालमेल वा गठबन्धन गरिनु हुन्न भन्नेमा मत जाहेर गरे।
महासमितिदेखि केन्द्रीय कार्यसमितिमा पनि अल्पमत पक्षले चर्को स्वरमा उठाइरहेको आवाज भनेको चुनाव अघि अन्य दलसँग चुनावी तालमेल गरेर आम कार्यकर्ताको रुख चिन्हमा मत दिन पाउने अधिकार खोस्न हुन्न भन्नेमै केन्द्रित छ।
उदाहरणका लागि यदि, महामन्त्री थापा र उनका समर्थकले भनेजस्तै चुनावी गठबन्धनको विपक्षमा कांग्रेस उभिने नै हो भने, त्यो भन्दा अगाडि पार्टीको महाधिवेशन होला। त्यसपछि आउने केन्द्रीय समिति वा महाधिवेशन वा महासमितिले १४औं महाधिवेशनबाट चुनिएको महासमिति वा कार्यसमितिले बोकाएको भारी बोक्न बाध्यकारी हुन्छ कि हुँदैन?
०८४ को चुनावमा मात्रै गठबन्धन नगर्ने हो कि त्यसअघि ०८२ मा हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा पनि गठबन्धन नगरी एक्लै लडेर सबै ठाउँमा दोस्रो हुने भन्ने हो? किन भने, राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश र स्थानीय तहको मतभारका आधारमा गठबन्धनविना नै चुनावमा जाने हो भने अब हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा कांग्रेसले मुस्किलले एकाध सिटबाहेक करिब १९सै सिटमै दोस्रो हुने बाहेक अरु विकल्प नहोला। दोस्रो भएर सांसदको संख्या त बढ्दैन होला। फेरि चुनावी तालमेल र गठबन्धनको विषय तत्कालीक समयको माग र परिस्थितिले निर्धारण गर्ने रणनीतिको विषयमा पछि चर्चा गरौँला।
तर, यसरी मत जाहेर गर्दैगर्दा विरलै सदस्यले यसको तथ्यपरक विश्लेषण गरे।
यदि त्यस्तो हुन सकेको भए, उपसभापति र महामन्त्रीहरुले ‘एताको दुनाको पानी उताको दुनामा हाल, उताको दुनाको चामल पल्लो टपरीमा सार’ भन्ने पारामा उनीहरुले खटाएका ज्यालादारी वा अवैतनिक खेतालाहरुले तयार पारिएको गाईको निवन्ध जस्तो निरश र गतिहिन दस्तावेज पूर्णरुपले परिमार्जन गर्नुपर्ने धारणा जारी केन्द्रीय कार्यसमितिमा आउने थियो होला।
किन भने, यी दस्तावेजले पाटीलाई कुनै गति र मति दिने विरलै आधार र अवधारणा छन्।
जुन नेताको मनमा जे आयो, अथवा जे ठिक हो जस्तो लाग्योे त्यही कुरा भावावेशमा बकिदियोको स्थिति हुँदैनथ्यो।
जस्तै उदाहरणका लागि, चर्चित युवा महामन्त्री गगनकुमार थापाले अघि सारेको १५औं महाविधेशनको विषय नै हेरौँ न!
थापाले आफ्नो प्रतिवेदनको पृष्ठ ३० मा पार्टी विधान अनुसार, ०८२ मंसिरसम्ममा पार्टीको महाधिवेशन सम्पन्न गर्नु पर्ने र त्यसअघि ०८१ मा विधानकेन्द्रित महासमिति बैठक गर्ने प्रस्ताव अघि सारेका छन्।
जुन प्रस्तावलाई नेपाली मिडिया जगतदेखि सामाजिक संजालमा सक्रिया गगनका समर्थकहरुले पनि प्राथमिकताका साथ उठाइरहेका पनि छन्।
तर, यसरी महाधिवेशनको मितिसहितको प्रस्ताव अघि सार्दैगर्दा विधानको सिरानी हालेका थापाले त्यहि विधानको झण्डै ३० वटा धारा र उपधाराको विषयमा हेर्न वा छुन पनि सकेका छैनन्।
अर्थात, यदि थापाकै प्रस्ताव बमोजिम ०८२ मंसिरभित्रै पार्टीको १५औं महाधिवेशन गर्ने नै हो भने, त्यो यथास्थितिमा कति सम्भव छ? विधानको धारा ३५ को उपधारा २ को खण्ड (घ) ले भन्दछ, ‘कांग्रेसको केन्द्रीय महाधिवेशन र प्रदेश अधिवेशन हुने वर्ष भन्दा कम्तिमा एक वर्ष अगवौ स्थानीय तहका सबै अधिवेशन र कार्यसमितिहरु गठन गरिनेछन्। स्थानीय तहकाका अधिवेशनबाट प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशनका लागि निर्वाचित हुने प्रतिनिधि प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशन हुनुभन्दा तीन महिना पहिला निर्वाचित गरिनेछन्।’
सोही विधानको धारा ४३ ले पार्टीका सबै तह र निकायका पदाधिकारी तथा सदस्यहरुको पदावधि चार वर्षको हुने व्यवस्था गरेको पनि छ।
यदि अन्य सवालमा विधानको आड लिएजस्तै यो प्रावधानलाई पनि कार्यान्वयन गरी अघि बढ्न चाहेको खण्डमा के महामन्त्री थापाले अघि सारेको तिथि र मितिमा १५औं महाधिवेशन सम्भव छ? कदाचित छैन। किन भने, पहिलो त, विधानको धारा ४ बमोजिम क्रियाशील सदस्यता टुंगो कांग्रेसले लगाएकै छैन। त्यसका अतिरिक्त धारा ३५ को यो प्रावधान अनुसार अघि बढ्ने हो भने, कांग्रेसले आगामी मंसिरसम्ममा स्थानीय तहका सबै अधिवेशन सम्पन्न गरिसक्नु पर्दछ।
त्यसका लागि पनि विधानको धारा ४३ ले केन्द्रीय अधिवेशनको सवालमा छुट दिएपनि स्थानीय तथा जिल्ला तहका पदाधिकारी र सदस्यहरुको कार्यकाल घटाएर तीन वर्ष गराउने छुट दिँदैन।
तर, पार्टीको निर्वाचन समितिलाई स्थानीय तहको अधिवेशन गराउन नै कम्तिमा ६ महिनाको समय चाहिन्छ भने थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्मा भदौ २४ बाट सय दिने सांगठनिक अभियान चलाउने प्रस्ताव जारी केन्द्रीय समितिमा राखेका छन्। जसअनुसार, यो अभियान पुस ४ गतेसम्म चल्छ भने अधिवेशनको तयारी कहाँ, कहिले र कसरी होला?
यसका बाबजूद थापा, शर्मा वा अन्य जो कोही नेताले १५औं महाधिवेशन ४ वर्षभित्रै गरिसक्ने धोको राख्ने हो भने पनि यसमा उनीहरुले केन्द्रीय कार्यसमितिमा अत्याधिक बहुमतसहित नेतृत्व गरिरहेका सभापति शेरबहादुर देउवालाई चिढाएर कदाचित सम्भव देखिदैन। यसका लागि सभापति देउवाले विगतमा जस्तै विधानमा रहेका झण्डै तीन दर्जन धारा, उपधारा र खण्डलाई निलम्बन गरिदिने निर्णयमा नेतृत्वदायी भूमिका निर्वाह गरिदिनु पर्दछ।
यस्तो स्थितिमा महामन्त्रीद्वय वा जो नेताले ०८२ मंसिरभित्रै अधिवेशन गरिसक्ने हल्ला गरिरहेका छन् उनीहरुलाई या त यो अवधिभित्र महाधिवेशन हुन सक्दैन, तर हल्ला भने गरिरहनु पर्छ भन्ने मान्यताले गाँजेको छ। या त विधानमा रहेको यो जटिल प्रावधानको विषयमा अत्तोपत्तो छैन, र भन्छन्, ०८१ भित्र विधान केन्द्रित महासमिति बैठक गर्नेछौँ। र पनि उनी र उनका पक्षमा उभिँदै आएका नेता, कार्यकर्ताहरु महामन्त्रीद्वयको प्रस्तावमा कुनै प्रश्न नउठाई हो मा हो मिलाइरहन्छन्।
हुनत कांग्रेसभित्र नेताको कुरामा प्रश्न गर्ने आँट र स्पष्ट विचारसहितका प्रदिप गिरि जस्ता नेताहरु अहिले खोजेर कहाँ पाइन्छ र? अहिले त, पार्टी सदस्य अथवा समर्थक भन्दा पनि अन्धभक्त समर्थकको जमाना हो। त्यही भएर, नेताको हितमा होस् कि अहितमा, आफूले मन पराएको नेताको नाम आउनुपर्यो, भइहाल्छ।
अन्यथा, आफ्नै नेताको स्मरणमा आयोजित स्मृति सभामा प्रमुख अतिथिका रुपमा आमन्त्रित नेतृत्वविरुद्ध आयोजक सदस्यहरुमध्येकै एक वक्ताले आफ्नो कुण्ठाग्रस्त अभिव्यक्ति र आक्रोसमा ‘पुस्तक चोर’को आरोप लगाउँदै घोर अपमान गर्दै गर्दा पनि कार्यक्रममा उपस्थित नेता, कार्यकर्ताले पररर ताली बजाउँदै आनन्दानुभूति लिने थिएनन् होला। कसै न कसैले यो गलत अभिव्यक्ति र क्रियाकलापको विरुद्धमा औंला ठड्याएर प्रश्न गर्ने दुस्साहस गर्ने थियो होला।
तर, यो अपेक्षा दास मनोवृत्तिले जकडिएका चरणदासहरुबाट गर्नु भनेको मृगतिृष्णा सरह हो। किन कि, कांग्रेसमा अहिले स्वाभिमानी कार्यकर्ताको खडेरी पर्दैछ। अवसरको खोजीमा स्वार्थका गलगाँडले थलिएका चरणदासहरुको भिड बढ्दैछ, त्याग र समर्पण भावले पार्टी सिद्धान्त र आदर्श बोक्ने इमान्दार नेता, कार्यकर्ताहरु पार्टीभित्रको व्यथितिले कहिल्यै उठ्नै नसक्नेगरी विस्तारै थला पर्दैछन्। त्यसैले कांग्रेस र कांग्रेसीलाई राम! राम! भनौँ, राम! राम!