हिमाल दैनिक
लेखा समिति सभापति पोखरेलका स्वकिय सचिवविरुद्ध ठगीको आरोप, पदबाट निष्काशित

प्रतिनिधि सभा सदस्य एवं सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले आफ्ना स्वकिय सचिव अनिलकुमार पोखरेललाई आफ्नो स्वकिय सचिवबाट हटाएका छन्।

भ्रष्टाचार जन्य क्रियाकलापमा संलग्न भएको आरोप लागेका पोखरेललाई उच्च अदालत विराटनगरले पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको जानकारी पाएपछि लेखा समिति सभापति पोखरेलले आफ्ना स्वकिय सविच अनिललाई आजैको मितिदेखि लागू हुनेगरी जिम्मेवारीबाट निष्काशन गरेको बताएका छन्।

स्वकिय सचिव अनिलले चिकित्साशास्त्र शिक्षा अध्ययन (एमबीबीएस)को प्रवेश परिक्षामा नाम निकालीदिने आश्वासन दिँदै दुई वर्षअघि सप्तरीका बौआलाल चौधरीबाट ३८ लाख रुपैयाँ लिएको भन्दै पीडित चौधरीले विराटनगरस्थित उच्च अदालतमा दायर गरेको रिट उपर अदालतले निजविरुद्ध पक्राउ पूर्जी जारी गरेपछि सभापति पोखरेलले उनलाई पदमुक्त गरेको घोषणा गरेका हुन्।

अनिलको विषयमा विभिन्न संचारमाध्यममा समाचार प्रकाशित भएपछि सभापति पोखरेलले यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै निजमाथि लगाइएका विभिन्न आरोपहरुको अनुसन्धानमा सहयोग पुगोस् भन्ने उद्देश्यले निजलाई आजैका मितिदेखि लागू हुनेगरी स्वकिय सचिवको जिम्मेवारीबाट निष्काशन गरेको पत्र संसद सचिवालयको सुविधा शाखामा पत्राचार गरेका हुन्।

मोरङस्थित एक बचत तथा ऋण सहकारीको रकम सभापति पोखरेलकी श्रीमतीले हिनामिना गरेको आरोपमा उनीविरुद्ध पक्राउ पूर्जी जारी भएपछि विपक्षी दलका सांसदहरुले सभापति पोखरेल विरुद्ध नैतिकताको प्रश्न उठाउँदै समितिको सभापतिबाट राजीनामा दिन दबाब दिँदै आएका छन्।

उक्त विषयले पार नपाउँदै मोरङ जिल्ला कमिटी एमालेका सदस्य समेत रहेका अनिलको विषयमा अर्को विवादस्पद समाचार आएपछि सभापति पोखरेलले स्वकिय सचिवलाई हटाएर प्रतिरक्षामा उत्रनु परेको हो।

निष्काशन पत्रमा उनले भनेका छन्, ‘भ्रष्टाचार जन्य क्रियाकलापमा संलग्न जो कोहीमाथि निश्पक्ष छानविन र दोषी उपर कडा कारबाही हुनुपर्दछ भन्ने मेरो मान्यता रहेको समेत स्पष्ट गर्न चाहन्छु।’  

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update