नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुराना पार्टीहरुले केही गर्न सक्दैनन् भन्ने अतिरञ्जित भाष्यहरुमार्फत समाजलाई पछिल्लो समय दिग्भ्रमित पार्ने कोशिशलाई चिर्दै अगाडि बढ्न पार्टीका सबै नेता, कार्यकर्तालाई आग्रह गरेका छन्।
पार्टी कार्यालय सानेपामा सोमबार पार्टीको शुभेच्छुक संस्था समन्वय विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सभापति देउवाले पछिल्लो समय विभिन्न शक्ति र व्यक्तिहरुले पुरानाले केही गर्न सक्दैनन् भन्ने भाष्य निर्माणसहितको अभिव्यक्ति दिँदै समाजलाई गलत दिशातर्फ उन्मुख गर्ने कोशिश भएको बताएका हुन्।
उनले तर, यस्ता आधारहिन भाष्यलाई चिर्न पार्टीभित्रका सबै भातृ तथा शुभेच्छुक संस्था र नेता, कार्यकर्तालाई बृहत एकता गर्दै अझ बढी सशक्त र क्रियाशील बनाउन जोड दिए।
पार्टीभित्रको बृहत एकता र सशक्त भूमिकाले मात्रै आगामी निर्वाचनमा कांग्रेसले बहुमत प्राप्त गर्दै मुलुकमा कांग्रेसकै नेतृतवमा स्थिर सरकार निर्माण गर्दै लोकतन्त्रको संस्थागत विकास र जनचाहना बमोजिमको विकास र समृद्धी हासिल गर्न सकिने बताए।
त्यस्तै कांग्रेस महामन्त्री गगनकुमार थापाले समाजमा देखिएका असन्तुष्टिहरुको समाधान गर्न कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
एकथरीले असन्तुष्टिको आगोमा मट्टितेल खनाउने काम गरिरहेको भन्दै थापाले जनतामाझ व्याप्त निराशा र असन्तुष्टिको आगो निभाउन पार्टी नेता, कार्यकर्ता जिम्मेवार र गम्भीर भएर लाग्नु पर्ने बताए।
उनले कांग्रेसमाथि लगाइएका अनावश्यक आरोपहरुका बारेमा जनतालाई बुझाउनुपर्ने र कांग्रेसभित्रका कमजोरीलाई सुधार गर्दै संगठनलाई बलियो र सुद्रिढ बनाउनु पर्ने पनि बताए।