हिमाल दैनिक
कानूनले नचिन्ने र नियमले नदिने उड्ने कार देखेर प्रधानमन्त्री ओली दंग!

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को पछिल्लो संशोधनले नेपालमा संचालन हुने सवारी साधनहरुको स्पष्ट वर्गीकरणसहित त्यसको आयात, निर्यातको प्रक्रियासँगै संचालन सम्बन्धी स्पष्ट व्यवस्था गरेको छ। 

जसको मातहतमा रहेर त्यस्ता सवारी साधन विदेशबाट पैठारी गर्ने व्यक्ति, फर्म वा कम्पनीले कानूनकै परिधिभित्र रहेर भन्सार शुल्क लगायतका अन्य प्रक्रिया पूरा गरेर मात्रै संचालनमा ल्याउन पाँउछन्।
 
तर, पछिल्लो समय आधुनिक प्रविधिको विकाससँगै विश्व बजारमा संचालनमा आएका कतिपय यस्ता सवारी साधनहरु नेपालभित्र ल्याउन र संचालन गर्न कानूनी व्यवस्थामा रहेको कमजोरी भनौ या समय सापेक्ष परिमार्जन नहुँदा समस्या उत्पन्न हुन सक्दछ। 

यसका लागि आवश्यक कानून बनाउनेदेखि त्यसको कार्यान्वयनदेखि नियमन र अनुगमन गर्ने दायित्व देशको संविधान, कानून र नियमले सरकारलाई दिएको छ। 

तर, सरकारकै प्रधानमन्त्रीले कानून र नियमको परिधिभित्रै नपर्ने अत्याधुनिक सवारी साधन ल्याएर त्यसलाई प्रदर्शनीमा राख्ने वा संचालन गर्न लगाउने कार्यले कानूनी राज्यको बचाउ गर्दैन।

मंगलबार यस्तै भएको छ, राजधानीमा। 

मंगलबार काठमाडौंको भृकुटिमण्डपमा सुरु भएको नाडा अटो शोको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यातायात व्यवसायी र त्यसका आधिकारिक पैठारीकर्तालाई उत्साहित पनि बताए।

कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारले व्यवसायीमैत्री नीतिका साथ बिकासको बाटोमा तीव्र गतिले अघि बढिरहेकाले ढुक्क भएर लगानी गर्न आह्वान पनि गरे।

सोही क्रममा प्रधानमन्त्री ओलीले दिपलको ईभीटोल (उड्ने सवारी) लगाएत प्रदर्शनीको अवलोकन समेत गरे।

तर, नेपालको सवारी साधन व्यवस्थापन सम्बन्धी ऐनको कुनै पनि दफा, उपदफा र अनुसूचिमा समावेश नभएको उड्ने सवारी साधन अवलोकन गर्दै दंग पर्ने क्रममा प्रधानमन्त्री ओली वा सरकारका अन्य कुनै पदाधिकारीले उक्त सवारी साधनको आयात र संचालन वा प्रर्दशनी कुन कानूनी मान्यताका आधारमा भएको होला भनि प्रश्न त गरेनन् नै।

विश्व बजारमा छाउँदै गरेका नयाँ नया प्रविधि र उपकरणलाई नेपाल भित्र्याउनेदेखि त्यसको सहज संचालनका लागि आवश्यक कानूनी प्रावधानबारे पनि खासै चासो पनि देखाएनन्।

बरु राजनीतिक कार्यक्रममा जस्तै भाषणवाजी गर्ने क्रममा प्रधानमन्त्री ओलीले अग्रगमन र आधुनिकीकरणका लागि नीतिगत व्यवस्थाहरु र पूर्वाधार विकास गरेकाले लगानी र काम गर्न कुनै बाधा नरहेको भाषण ठोके।

राजनीतिक अवस्थासँगै जनमानसमा व्याप्त असन्तुष्टिप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले अहिले असन्तुष्ट हुनुपर्ने कुनै कारण नरहेको जिकिर गरे।

उनले उत्तर र दक्षिणतिर नयाँ र पक्की मार्गहरु बन्ने क्रममा रहेका, अन्तर्राष्ट्रिय विमानस्थल थपेको, हरित उर्जा, मिथेन ग्यास, धौवादी फलामको उत्पादन गरेर प्रयोगमा ल्याउन लागेको धारणा राखे।

सरकारका सबै प्रयासको ध्येय विकास र समृद्धि भएकाले देशका लागि योगदान दिन उनले व्यवसायीहरुलाई आग्रह समेत गरे।

प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ नयाँ विकास, आविष्कार र प्रगति भएको बताउँदै नेपालले पनि त्यस प्रकारको विकासको सहज उपभोग गर्ने स्थिति बनाउनुपर्नेमा जोड दिए। 

उनले नयाँ ढंगले काम गर्ने युवाहरूलाई सरकारले सबै खालको साथ दिने विश्वास पनि दिलाए। तर, त्यसका लागि विद्यमान कानूनी जटिलताले निम्त्याउन सक्ने समस्या समाधानका लागि कानूनमा समयसापेक्ष परिमार्जनको सवालप्रति भने ध्यानै दिएनन्।

भाद्र ८ गतेसम्म चल्ने नाडा अटो शो २०२५ मा १९ वटा चार पाङ्ग्रे ब्रान्डहरू, ४ वटा दुई पाङ्ग्रे ब्रान्डहरु, १३ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शनमा राखिएको छ। 

त्यस्तै अटो पाट्र्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, ग्यारेज उपकरणका १२५ भन्दा बढी प्रदर्शनी कक्षहरु नाडा अटो शोमा रहेका छन्। 

 

 

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update