हिमाल दैनिक
पूर्वराष्ट्रपति भण्डारीको सदस्यताबारे ओली भन्छन्ः कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा सदस्यता नविकरण हुँदैन

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नविकरण नहुने अडान दोहोर्याएका छन्।

शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले पार्टी सदस्यता परित्याग गरेर भण्डारी राष्ट्रपति हुन गएकाले परित्याग गरेको सदस्यता नवीकरण नहुने स्पष्ट पारे।

संविधानको धारा ६२ अनुसार, कुनै पनि राजनीतिक दलको नेता, कार्यकर्ता वा सदस्य राष्ट्रपति वा उपराष्ट्रपति पदमा निर्वाचित भएर सपथ लिएलगत्तै निजको पार्टीमा रहेको सम्पूर्ण पदसँगै साधारण सदस्यता समेत रिक्त हुने स्पष्ट प्रावधान रहेको छ। 

तर, शीतल निवासमा ७ वर्ष ज्यादा समय बिताएर ०७९ फागुनमा फर्किएकी पूर्वराष्ट्रपति भण्डारीले आफु विगत ४५ वर्षदेखि निरन्तर एमालेको संगठित सदस्य रहेको दाबी गर्दै गत वर्ष नविकरण समेत गरेकी थिइन्। 

पछिल्लो समय पार्टीको बैठकबाट भण्डारीको सदस्यता नै नविकरण नभएको निर्णय सार्वजनिक भएपछि उनले पार्टीले आफ्ना सदस्यता खोस्यो भन्ने आरोप लगाएको ओलीले उक्त दावीमा सत्यता नरहेको बताए।

पार्टी सदस्यता नविकरणका लागि रसिद समेत काटेको भण्डारीको दावीप्रति अध्यक्ष ओलीले कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा नवीकरण नहुने टिप्पणी गरे।

बिहिबार आफ्नो राजनीतिक गतिविधि संचालनका लागि बेग्लै सम्पर्क कार्यालय खोलेकी पूर्वराष्ट्रपति भण्डारीले चुनाव हारेकाहरुलाई भेला गरेर जमात खडा गर्दै हिँडेको ओलीको आरोप छ। 

उनले दुई पटक राष्ट्रपति भइसकेको व्यक्तिले पार्टीमा यस्तो समस्या खडा गर्नुहुन्छ भन्ने आफूले कल्पना समेत नगरेको जिकिर गरे।

ओलीले मदन भण्डारीको अर्को वर्षको जन्मदिन मनाउन अहिलेदेखि कार्यालय खोल्दै पार्टीविरुद्ध भेला गरेर बसेको देखिएको आरोप समेत भण्डारीमाथि लगाए।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार देश बिकासको बाटोमा अघि बढिरहेको दाबी गरे। 

पार्टीमा प्रवेश गरेकाहरुलाई कुनै न कुनै जिम्मेवारी दिने बताउँदै कार्यक्रममा ओलीले आम जनता पार्टी (आजपा) का वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहसहित विभिन्न नेता कार्यकर्तालाई एमाले पार्टी प्रवेश गराएका थिए।

 

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update