
प्रतिनिधि सभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदका लागि भदौ ११ गते बुधबार निर्वाचन हुने भएको छ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको निर्देशनमा संसद सचिवालयका महासचिवले सोमबार सूचना प्रकाशित गर्दै रिक्त रहेको समिति सभापतिको निर्वाचन हुने बताइएको छ।
यसअघि समितिले लामो छलफल र सहमति पश्चात पारित गरेर संसदमा पठाएको निजामति सेवा गठन तथा संचालन सम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयकमा राखिएको कुलिङ अफ पिरियड समितिबाट सदनमा पठाउने क्रममा छेडखानी भएपछि त्यसको नैतिक दायित्व लिँदै निर्वतमान समिति सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका थिए।
खतिवडाले सभापति पदबाट साउन २७ गते दिएको राजीनामा पश्चात रिक्त रहेको उक्त पदमा प्रतिनिधि सभा नियमावलीको प्रावधान बमोजिम बुधबार पदपूर्ति गर्ने तयारी भएको हो।
सदनभित्रको अंकगणितीय उपस्थितिका आधारमा दलहरुबिच भएको समिति सभापतिको बाँडफाँटका क्रममा राज्य व्यवस्था समिति नेपाली कांग्रेसको भागमा परेको थियो।
सोही आधारमा अहिले पनि उक्त समितिमा कांग्रेसकै सदस्यहरुमध्येबाट सभापति चयन हुने बलियो सम्भावना भएपछि उक्त पार्टीभित्रको आन्तरिक मतभेदका कारण सभापतिको उम्मेदवार कसलाई बनाउने भन्नेबारे अझै टुंगो लागिसेको छैन।
कांग्रेसले सभापतिमा सम्भावित सदस्यको नाम टुंगो लगाएपछि उक्त नाममा सत्ता साझेदार दल नेकपा एमालेको साथ र समर्थनले मात्रै पनि सभापति चयनका लागि आवश्यक बहुमत पुग्ने भएपनि सरकारको समर्थनमा रहका साना दलले पनि साथ दिन सक्ने छन्।