हिमाल दैनिक
राज्य व्यवस्था समितिको सभापतिमा ईश्वरी न्यौपानेको मात्रै उम्मेदवारी दर्ता

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदका लागि नेपाली कांग्रेसकी नेतृ ईश्वरीदेवी न्यौपानेले मनोनयन दर्ता गरेकी छन्।

मंगलबार समिति सभापतिका लागि मनोनयन दर्ताका लागि पूर्वनिर्धारित समयसीमाभित्र सत्ता गठबन्धनको तर्फबाट कांग्रेस सांसद न्यौपानेको मात्रै उम्मेद्वारी परेपछि उनी भोलि बधुबार अपरान्ह बस्ने समिति बैठकबाट सर्वसम्मत निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा हुने छ। 

न्यौपानेको मनोनयन प्रस्तावकमा सांसद रामहरि खतिवडा र समर्थकमा एमाले सांसद कृष्ण गोपाल श्रेष्ठ रहेका छन्।

मनोनयन दर्ता गरेपछि न्यौपानेले पार्टीको निर्देशन अनुसार आफुले संसदको संसदीइ विशेष सुनुवाई समितिको सभापतिबाट राजीनामा दिएर राज्य व्यवस्था समितिको सभापति पदमा मनोनयन दर्ता गरेको जानकारी दिइन्।

राज्य व्यवस्था समितिमा यसअघि घटेको घटना दोहरिन नदिने गरि सबैलाई विश्वासमा लिएर समितिलाई प्रभावकारी रुपमा अघि बढाउने योजना उनले सुनाइन्।

संसदका विषयगत समितिमध्ये सबैभन्दा महत्वपूर्ण समितिको रुपमा परिचित राज्य व्यवस्था समितिमा विगतदेखि नै सदस्यका रुपमा क्रियाशील सदस्य न्यौपानेले आगामी दिनमा समितिको सभापतिको जिम्मेवारीमा रहेर काम गर्दा आउनसक्ने चुनौतीको सामना गर्दै त्यसबाट अपेक्षाकृत सम्भावनाको बाटो पहिल्याउन सक्ने विश्वास व्यक्त गरिन्।

उनले चुनौति नभएको ठाउँ कुनै नहुने र चुनौतिले सम्भावनाको ढोका पनि खोल्ने भन्दै राजनीतिमा लागिसकेपछि चुनौतीदेखि डराएर हिड्ने कुरा पनि नहुने भन्दै समितिमा रहेका सबै वरिष्ठ सदस्यदेखि सबै पक्षलाई आफू विश्वासमा लिएर सकेसम्म ज्यादा कानून निर्माणको प्रक्रियामा अघि बढ्ने पनि बताइन्।

यसअघि उनी संसदीय सुनुवाई समितिको सभापतिका रुपमा क्रियाशील रहँदा उक्त समितिबाट निर्वाचन आयोगका लागि प्रस्तावित कृष्णमान प्रधानविरुद्धको गम्भीर आरोपसँगै श्रीलंकाका लागि प्रस्तावित राजदूतका उम्मेदवार रामकृष्ण भट्टराईको नाम समितिबाट सर्वसम्मत अस्विकृत गराउन सफल भएकी थिइन्।

राज्य व्यवस्था समितिको सभापतिमा मनोनयन दर्ता गर्नुअघि मंगलबार नै न्यौपानेले संसदीय सुनुवाई समितिको सभापतिबाट राजीनामा दिएकी थिइन्।

निजामति सेवा विधेयकमा राज्य व्यवस्था समितिले कुलिङ अफ् पिरियडको व्यवस्था सर्वसम्मत पारित गर्दै अघि बढाएपछि सदनमा पेश गरी पारित गर्ने क्रममा उक्त प्रावधानमाथि छेडखानी भएपछि छानविन बिशेष समितिले नैतिक जिम्मेवार ठहर गरेपछि यसअघिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका थिए।

 

प्रकाशित मिति: मंगलबार, भदौ १०, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update