हिमाल दैनिक
सभापति देउवाको सचिवालय भन्छः दुसित मनसायले बदनाम गर्न गरिएका प्रायोजित हल्लामा कुनै सत्यता छैन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा उनकी धर्मपत्नी आरजु राणा देउवाकाबारेमा विगत केहीदिन यता सामाजिक सञ्जाल र विभिन्न संचारमाध्यमबाट प्रसारित सूचना र समाचारमा कुनै सत्यता नभएको प्रतिक्रिया सभापति देउवाको सचिवालयले दिएको छ। 

पूर्वप्रधानमन्त्री एवं पार्टी सभापति देउवाको निजी सचिवालयका स्वकीय सचिव भानु देउवाले बिहिबार साँझ एक प्रेस वक्तव्य जारी गर्दैं देउवा दम्पत्तिकाबारेमा प्रसारित तथ्यहिन हल्लाका पछाडि नलाग्न आग्रह गरेका हुन्।
 
करिब दुई दशकदेखि सभापति देउवाको स्वकीय सचिवका रुपमा कार्यरत भानु देउवाले जारी गरेको विज्ञप्तिमा गत भाद्र २३ र २४ गते नेपालका जेन–जी पुस्ताले आव्हान गरेको शान्तिपूर्ण प्रदर्शनक्रममा ज्यान गुमाएका सबैप्रति कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री देउवाले गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाउनु भएका सम्पूर्ण महान नेपाली आमाका सपुतहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको बताएका छन्। 

साथै उनले उक्त घटनामा परि घाइते भएका सबै सर्वसाधारण नागरिक तथा राष्ट्रसेवक सुरक्षाकमीको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन्।

Statement by Bhanu Deuba 2082.06.021758273741.jpg

नवयुवाहरुको समूह (जेन–जी)को आन्दोलनलाई धमिलो बनाई आ–आफ्नो कुत्सित मनसाय पुरा गर्ने विभिन्न समूहहरूले २४ गते बिहानैदेखि अकल्पनीय ढंगको आतङ्क सिर्जना गर्ने, राजनैतिक दलको कार्यालय र नेताहरूको निजी निवास आक्रमण गर्ने जस्ता अपराधिक क्रियाकलाप भएकोप्रति भने सभापति देउवाले भत्र्सना गरेको विज्ञप्तिमा उल्लेख छ। 

भदौ २३ गते सडक प्रदर्शनमा भएको हिंसात्मक कारबाहीमा १९ जना प्रदर्शनकारी युवाहरुको ज्यान गएपछि दोस्रो दिन भदौ २४ देशभरी नै युवा लगायतका नागरिकले हिंसात्मक तोडफोड, आगजनी गर्दै राजधानीका अधिकांश सरकारी कार्यालय, अदालत, अख्तियार, दलका कार्यालयदेखि राजनीतिक दलका नेताहरुको घरमा तोडफोड र आगजनी गर्दै भेटेजति दलका नेताहरुमाथि भौतिक आक्रमण गरेका थिए।

सोही क्रममा बुढानिलकण्ठस्थित निवासमा बसिरहेका देउवा दम्पत्तिमाथि पनि घरेलु हातहतियारसहितको समूहले आक्रमण गर्दै देउवा दम्पत्तिका अतिरिक्त उनका सहयोग तथा आफन्तजनमाथि पनि सांघातिक आक्रमण गर्दै घरमा तोडफोड, लुटपाट र आगजनी गरी ध्वंस मच्चाएका थिए।

उक्त आक्रमणलाई देउवाका स्वकिय सविच भानुले निन्दा गर्दै भनेका छन्, ‘भदौ २४ गते डकैतीको शैलीमा नेपाली कांग्रेसका सभापतिको निवासमा प्रवेश गरेर सभापति देउवा, उहाँकी धर्मपत्नी केन्द्रीय सदस्य डा. आरजु राणा देउवा लगायत माथि सांघातिक आक्रमण भएको हो। तर त्यस्तो जघन्य अपराधिक घटना पछि पनि पार्टी र पार्टी नेतृत्वलाई वदनाम गर्ने उद्देश्यले विभिन्न सामाजिक सञ्जालहरूमा “देउवा निवासमा अत्याधिक पैसा भेटिएको, जलेका नोटका अंशहरू निवास परिसरमा जताततै भेटिएको, पैसाको सुरूङ्ग रहेको” जस्ता कपोकल्पित समाचार सम्प्रेषण भईरहेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सामाजिक सञ्जालमा देखाईएका दृष्यहरू कपोकल्पित, अतिरञ्जित र भ्रामकका साथै दुसित मनासयले बदनाम गर्ने उदेश्यले फैलाइएका भ्रामक समाचार हुन् । यस्ता बदनाम गराउने उदेश्यले विषेश गरी सामाजिक संजालहरूमा फैलाइएका हल्लामा कुनै सत्यता नभएको स्पष्ट पार्दछु।’

उक्त प्रचारप्रसारको सन्दर्भमा स्पष्ट पार्दै भानुले विज्ञप्तिमा भनेका छन्, ‘विभिन्न सामाजिक सञ्जालमा घर भित्र रहेको अण्डर ग्राउण्ड ट्याङ्कीलाई विभिन्न अनुमान गरेर प्रचार प्रसार गरेको देखिएकाले उक्त पानी ट्याङकी रहेको स्पष्ट गर्दछु।’

साथै उनले जनमानसमा अपमानित गर्ने मनासयले प्रविधिको गलत प्रयोगबाट विभिन्न ठाउँमा विभिन्न समयका जलेका नोटका दृष्यहरू जोडेर सम्पादित फोटो र भिडियोहरू यूट्यूव तथा सामाजिक सञ्जालमा सम्प्रेषण गरिएको पाइएको भन्दै यसमा कुनै सत्यता नभएको दाबी गरेका छन्।

देउवाका स्वकीय सचिव भानुले यस्ता बदनाम गर्ने नियतले फैलाइएको भ्रामक सूचनाको पछि नलाग्न नेपाली बुबाआमा, दाजुभाई, दिदीबहिनी तथा पार्टीका सम्पूर्ण नेता एवं सदस्यहरू लगायत सम्वन्धित सबैसँग हार्दिक अनुरोध पनि गरेका छन्।

 

प्रकाशित मिति: बिहीबार, असोज २, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update