नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको पार्टीले दल दर्ताका लागि निर्वाचनमा आयोगमा निवदेन दिएको छ।
कम्युनिस्ट पार्टी नेपाल नाम राखेर चन्द नेतृत्वको पार्टीले दल दर्ताका लागि मंगलबार आयोगमा निवदेन दर्ता गरेको हो।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताका लागि निवदेन दिइएको प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए।
जनताको आफ्नो अधिकार र मुद्दाको कुरालाई जनताले आफैँ फैसला गर्ने लोकतान्त्रिक विधि निर्वाचन भएकाले आगामी निर्वाचनमा सहभागी हुन लागेको उनले बताए।
उनले जेनजी आन्दोलनपछि बनेको सरकारमाथि ठूलो चूनौति र प्रश्न रहेको भन्दै सरकारले तोकेको निर्वाचनलाई सम्पन्न गर्न जटिलता देखिएको धारणा राखे।
यस्तो अवस्थामा राष्ट्रिय राजनीतिमा नयाँ ढंगको समझदारी आवश्यक रहेको भन्दै विश्वकर्माले पार्टीले दल दर्ताको प्रक्रिया अघि बढेसंगै निर्वाचनलाई सफल बनाउन आयोगलाई पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाए।
सो क्रममा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ प्रतिस्पर्धाको माध्यमबाट निर्वाचित भएर मुलुकको सुशासन गर्ने पद्धति लोकतन्त्रको सुन्दर पक्ष भएको बताए।
कानूनभित्र रहेर जनताको विश्वास जित्न आएका दललाई आयोगले सदैव स्वागत गर्ने उनेले बताए।
उनले सामान्य भन्दा सामान्य त्रुटिले पनि निर्वाचन विथोलिन सक्ने भएकाले आयोग यसप्रति सहज रहेको जानकारी दिए।
विगतमा माओवादी पार्टीको नामबाट देशमा चलेको हिंसात्मक विद्रोहमा संलग्न हुँदै शान्ति सम्झौता पश्चात शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेका चन्द संविधान सभाबाट नयाँ संविधान निर्माण भएसँगै पार्टी नेतृत्वसँग विमती जनाउँदै अलग्गीएर नयाँ राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका थिए।
चन्द नेतृत्वको पार्टीले नेपाल कम्युनिष्ट पार्टीं (नेकपा) नामबाट राजनीतिक गतिविधि गर्दै आएपनि निर्वाचनका लागि कम्युनिस्ट पार्टी नेपाल प्रस्ताव गरेको हो। प्राप्त निवदेनमाथि अध्ययन गरेर आवश्यक निर्णय हुने आयोगले जनाएको छ।


