मधेस प्रदेशका निवर्तमान प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता सरोज यादवलाई रातारात होटलमा बोलाएर नियुक्ति गर्दै पद तथा गोपनीयताको सपथ दिलाएको विषयमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।
पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलले शनिबार विश्वासको मत नपाएपछि संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढाउन सदनमा रहेका दलहरुले माग गरिरहेकै बेला प्रदेश प्रमुख भण्डारीले सोमबार बिहानै जनकपुरबाट काठमाडौं उपचारका लागि जाने भन्दै बर्दिबासको एक होटलमा यादवलाई मुख्यमन्त्रीको सपथ दिलाएकी थिइन्।
उनको उक्त कदमलाई संविधानको ठाडो उलंघनयुक्त कदमको संज्ञा दिँदै विपक्षमा रहेका कांग्रेससहितका ७४ सांसदहरुले सोही दिन उक्त निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए।
यसरी दायर गरिएको रिटमाथि बुधबार सर्वोच्च अदालतका न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले कारण देखाउ आदेशसँगै अन्तरिम आदेश जारी गर्नेबारे दुबै पक्षलाई छलफलका लागि बोलाउने आदेश दिएको हो।
नवनियुक्त मुख्यमन्त्री यादवविरुद्ध सर्वोच्चमा रिट दायर भएपछि मंगलबार सर्वोच्च अदालतबाट मुख्यमन्त्रीका नाममा दीर्घकालीन निर्णय केही नगर्न पनि निर्देशन जारी भएको थियो।


