स्वास्थ्य उपचारका लागि सिंगापुरमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी धर्मपत्नी आरजु राणा देउवा शुक्रबार स्वदेश फर्कने भएका छन्।
सभापति देउवा निकट स्रोतका अनुसार, स्वास्थ्य उपचार गराएपश्चात सभापति देउवा दम्पत्ति आजै साँझ सिंगापुरबाट स्वदेश फर्कन लागेका हुन्। उनीहरु फकृन समयबारे अहिलेसम्म कुनै औपचारिक जानकारी बाहिर आएको भने छैन।
गत भदौ २३ गतेको नवयुवा (जेन–जी) प्रदर्शनमा भएको हिंसात्मक सुरक्षा कारबाही लगत्तै भदौ २४ गते घरेलु हातहतियारसहित देउवा निवास बुढानिलकण्ठ पुगेको अराजक भिडले देउवा दम्पत्तिलाई घरभित्रै लछारपछार र कुटपिट बाहिर चौर दिनभर जसो आक्रमण गरेपछि जसोतसो सुरक्षा निकायले उद्दार गरी आर्मी अस्पतालमा उपचारका लागि भर्ना गराएको थियो।
लामो समयसम्म अस्पतालमा उपचार गराई फर्किएका देउवाको टाउकोमा लागेको गम्भीर चोटका उक्त चोटको उपचारका लागि कार्तिक १० गते देउवा दम्पत्ति सिंगापुर प्रस्थान गरेका थिए।
सिंगापुर जानुअघि असोज २८ गते पार्टी कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा सम्बोधन गर्दै पार्टीको कार्यबाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएर गएका देउवा फर्किने बेलासम्ममा पनि पार्टीभित्रको विवाद र किचलो मत्थर हुन नसकिरहेको बेला देउवाको स्वदेशफिर्तालाई अर्थपूर्ण मानिएको छ।


