हिमाल दैनिक
सिमरा विमानस्थलबाहिर अराजक भिडबिच झडप, प्रशासनद्वारा कर्फ्यू जारी

बारा जिल्ला प्रशासन कार्यालयले सिमरा विमानस्थल बाहिर भएको अराजकता र दंगा फसाद नियन्त्रण गर्न भन्दै उक्त विमानस्थल अवस्थित जीतपुरसिमरा उपमहानगरपालिकाभित्र साँझसम्मका लागि कफ्र्यू आदेश जारी गरेको छ। 

वाराको परावानीपुरमा आयोजित युवा संघको कार्यक्रममा सहभागी हुन नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत लगायतका नेताहरु बुधबार बिहान काठमाडौंबाट सिमरा आउन लागेको जानकारी पाएपछि विमानस्थल आसपासका युवाहरुले नवयुवा (जेन–जी)को नाममा विरोध र अवरोध श्रृजना गर्न विमानस्थल बाहिर प्रदर्शन गर्न थालेपछि स्थिति बिग्रीएको थियो।

आफ्ना नेताहरुको स्वागतका लागि विमानस्थलमा पुग्दै गरेका वाराका एमाले नेता, कार्यकर्तासँग प्रदर्शनकारीको भेट भएपछि स्थिति तनावग्रस्त बन्न पुगेको थियो।

एकआपसमा भनाभन र हातपात हुन थालेपछि विमानस्थलको प्रवेशद्वार अराजक प्रदर्शनकारीहरुले भत्काइदिएर विमानस्थलभित्र प्रवेश गरेका थिए।

विमानस्थलको स्थिति तनावपूर्ण बनेको जानकारी पाएपछि नेता पोखरेल लगायतका व्यक्तिहरुसहितको यात्रुबहाक विमान त्रिभुवनविमानस्थलमै रोकिएको थियो।

त्यसपछि पनि वारास्थित विमानस्थल बाहिर अवस्था सामान्य नभएपछि जिल्ला प्रशासन कार्यालयले जीतपुरसिमरा उपमहानरपालिकाभित्र साँझ ८ बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरेको हो।

Simara Curfew1763538595.jpg

गत भदौ २३ गतेको नवयुवाहरुको प्रदर्शनमा भएको सुरक्षाकारबाहीमा भएको हताहत र २४ गते भड्कीएको विद्रोहबाट सरकार र संसद नै विघटनमा परेपछि बनेको पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति घोषणा गर्दै निर्वाचनको तयारी अघि बढाइरहेको छ। 

उता, जेन–जी आन्दोलनका क्रममा भएको घटनाबारे छानविन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको छानविन समितिले तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विदेश यात्रासँगै उपत्यका छाड्नबाट रोक लगाएको छ भने जेन–जीका नाममा संगठित युवाहरुले आज एमाले महासचिव पोखरेल र नेता बस्नेतको जिल्ला भ्रमणमा अवरोध श्रजना गरेपछि आगामी निर्वाचन स्वच्छ, भयरहित र निश्पक्ष वातावरणमा हुने सम्भावनाबारे थप आशंका बढाइदिएको छ। 

प्रकाशित मिति: बुधबार, मंसिर ४, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update