हिमाल दैनिक
माघ ११ र फागुन २१ को निर्वाचनमा सहभागी हुन कांग्रेसले दियो आयोगसमक्ष निवेदन

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ। 

कांग्रेस केन्द्रीय कार्यसमितिको असोज २८ गतेदेखि सुरु भएको जारी बैठक अन्तरगत शनिबार भएको पार्टी निर्णय बमोजिम माघ ११ गतेका लागि तय गरिएको राष्ट्रिय सभा सदस्यको निर्वाचनका अतिरिक्त फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी हुन आयोगले तय गरेको दल दर्ताको कार्यतालिका अनुसार कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले आयोगमा दल दर्ता गराएका हुन्।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव पौडेलले दिएको जानकारी अनुसार, आफूले राष्ट्रिय सभाको निर्वाचनसँगै प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन पार्टी निर्णय बमोजिम आज बिहान साढे १० बज्नु अगावै कांग्रेसको दल दर्ता निवदेन आयोगमा दिएका हुन्।

निर्वाचन आयोगले फागुन २० गतेदेखि रिक्त हुने १९ स्थानमध्ये १८ स्थानका लागि आगामी माघ ११ गते आइतबार निर्वाचन गराउने कार्यतालिका तय गरेको थियो। जसका लागि आयोगले निर्वाचनमा सहभागी हुन चाहने दलहरुले आज साँझसम्ममा दल दर्ताको निवदेन दिन समय तोकेको छ। 

यसका अतिरिक्त गत भदौ २३ गतेको नवयुवा (जेन–जी) प्रदर्शनमा भएको सुरक्षा कारबाहीको प्रतिरोधमा २४ गते भएको देशव्यापी हिंसात्मक प्रदर्शन, आगजनी र तोडफोड पश्चात विघटन हुन पुगेको प्रतिनिधि सभा सदस्यको निर्वाचन फागुन २१ गतेका लागि तय गरिएको छ। 

उक्त निर्वाचनमा सहभागी हुन चाहने राजनीतिक दलहरुलाई निर्वाचन आयोगले मंसिर १० गतेभित्र आयोगसमक्ष रितपूर्वक दल दर्ताको निवदेन दिन भनिसकेको छ। 
 

प्रकाशित मिति: आइतबार, मंसिर ८, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update