नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वयसँग गरेको सहमतिको प्रस्तावको विपक्षमा उभिने अडानमा रहेका संस्थापन पक्षका नेताहरुले सभापति शेरबहादुर देउवाको आग्रह र विश्वासमा महाधिवेशनको कार्यतालिकाप्रति सहमत हुन तयार भएका छन्।
विगत लामो समयदेखि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा पार्टीको नियमित महाधिवेशन नभए तत्काल विशेष महाधिवेशन गराउने भन्दै पार्टी नेतृत्वलाई निरन्तर दिँदै आएको धम्कीपूर्ण अडानबाट भविश्यमा पार्टीभित्र आउने सक्ने विभाजनको खतरालाई टार्न सभापति देउवाले पुस मसान्तभित्र नियमित अधिवेशनको कार्यतालिका ल्याउने प्रस्तावमा पछिल्लो समय सहमति जनाएका थिए।
सभापतिको सहमतिका बाबजूद संस्थापन पक्षमा रहँदैआएका सात पूर्व पदाधिकारीहरुमध्ये पूर्वउपसभापति प्रकाशमान सिंह, विमलेन्द्र निधि, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, शशांक कोइराला, सहमहामन्त्रीद्वय महेन्द्र यादव, उमाकान्त चौधरी, पार्टी प्रवक्ता प्रकाशशरण महत केन्द्रीय सदस्यहरु किरण पौडेल, सिता गुरुङ, गुरु बराल, रणबहादुर रावल, कुन्दन काफ्ले लगायतका बहुसंख्यक केन्द्रीय सदस्यले उपसभापति एवं कार्यबाहक सभापति खड्काले आफूहरुसँग परामर्श नै नगरी महामन्त्रीद्वयको प्रस्तावमा सहमति जनाएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।
उनीहरुले केही दिनअघि सभापति देउवासमक्ष नै विभिन्न राजनीतिक र व्यवहारिक कठिनाईलाई देखाउँदै निर्वाचन अघि पार्टीको कुनै पनि अधिवेशन गर्न नहुने भन्दै सहमहामन्त्री यादवको वैशाखमा १५औँ अधिवेशन गर्ने कार्यतालिकामा अडान लिएका थिए।
उता कार्यबाहक सभापति खड्काले सहमतिको प्रस्ताव तयार नहुँदासम्म पार्टीको बैठक निरन्तर सारिरहने भन्दै सामाजिक सञ्जालमार्फत आफ्नो अडान व्यक्त गरेपनि आइतबार संस्थापन पक्षका नेताहरुसँगको परामर्शविना नै पुसको अन्तिम साता महाधिवेशन गर्ने गरी कार्यतालिका तय गर्न लागेपछि असहमत पक्षले आइतबार नै छुट्टै भेला राखेर विशेष महाधिवेशनको प्रस्ताव फिर्ता नलिँदासम्म आफूहरुको तर्फबाट यादवको प्रस्तावकै पक्षमा अडिग रहने जानकारी बाहिर ल्याएका थिए।
सोमबार अपरान्ह २ बजेका लागि डाकिएको केन्द्रीय कार्यसमिति बैठक अगाडि संस्थापन पक्षमा रहेका नेताहरुलाई कार्यबाहक सभापति खड्काले महामन्त्रीद्वयलाई समेत सँगै राखेर पार्टी कार्यालयमा बिहान आफूहरुले तयार पारेको प्रस्तावको पक्षमा समर्थन जनाइदिन आग्रह गरेका थिए।
उपसभापति खड्कासँगको भेटवार्तामा सहभागी एक नेताका अनुसार, खड्काले आफूले सभापति देउवाकै सहमति र निर्देशनमा अधिवेशनको कार्यतालिका तय गरेको भन्दै प्रस्तावको पक्षमा समर्थन जनाइदिन आग्रह गरेका थिए।
त्यसपछि आफूहरुले सभापति देउवासँँगै पनि विभिन्न विकल्पको विषयमा छलफल गर्दा आफ्नो अडान कायम राखेको भन्दै प्रस्तावको पक्षमा सहमति जनाउनुअघि सभापति देउवासँग कुरा गरेपछि मात्रै निर्णयमा पुग्ने बताएर सभापति देउवा निवास महाराजगञ्जमा पुगेका थिए।
सभापति देउवासँगको भेटवार्तामा खड्का र महामन्त्रीद्वयको प्रस्तावको विपक्षमा रहेका नेताहरुले तत्काल अधिवेशन गर्न र चुनावमा जान रहेका कठिनाइका अतिरिक्त महामन्त्रीद्वयले अघि सारेको विशेष महाधिवेशनको प्रस्ताव फिर्ता नलिई अर्को प्रस्तावमा सहमति जनाउन नहुने सुझाव दिएका थिए।
जवाफमा सभापति देउवाले विशेष महाधिवेशनको प्रस्ताव फिर्ता गराउने वातावरणकै लागि पनि पुस मसान्तभित्र नियमित महाधिवेशनको कार्यतालिका तयार पारिएको भन्दै यसैमा सहमति जनाएर पार्टीभित्र एकता कायम गरिराख्न निर्देशन दिएको एक नेताले बताए।
जवाफमा संस्थापन पक्षका असन्तुष्ट नेताहरुले सभापतिको आग्रहमा उनैको भरोसा र विश्वासलाई सम्मान गर्दै महाधिवेशनको कार्यतालिकाप्रति सहमति जनाउन सहमत भएर फर्किएका थिए।



