नेकपा एमालेको अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका नेता ईश्वर पोखरेलले पार्टीलाई सहि ढंगले अघि बढाउन नेतृत्वमा दावी गरेको बताएका छन्।
सोमबार भृकुटिमण्डपस्थीत महाधिवशेन स्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै पोखरेलले पार्टीलाई विधि, पद्धती अनुरुप ठीक ढंगले चलाउनका लागि नेतृत्वमा दावी गरेको बताए।
अहिलेको अवस्थामा पार्टीलाई सामूहिक नेतृत्वको जरुरी रहेको भन्दै उनले पार्टीलाई विचारमा पुनर्गठित गर्नुपर्ने, संगठनमा पुनर्गठित गर्नुपर्ने र नेतृत्वमा पुनव्र्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको जिकिर गरे।
एमालेको पुरानो विधानलाई संशोधन गर्दै पुनः तेस्रो कार्यकालका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै उम्मेदवारी दिने तयारीकासाथ अघि बढेपछि ओलीलाई चुनौति दिन पोखरेल तयार भएका हुन्।
पोखरेलले बहुदलीय जनवादले निर्देशित एमालेमा आन्तरिक प्रतिस्पर्धालाई अस्वभाविक मान्न नहुने जिकिर गरे।
त्यस्तै ईश्वर पक्षका महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डेले एमाले प्रतिनिधिले पार्टीलाई एकताबद्ध गर्न आफुहरुलाई सहयोग गर्ने बताए।
त्यस्तै उपाध्यक्षका उम्मेदवार गोकर्ण विष्टले चूनावी प्रतिष्पर्धा भएपनि कसैप्रति पूर्वाग्रह नहुने धारणा राखे।
नेतृत्व परिवर्तन र हस्तान्तरण समयको माग भएकाले सामूहिकतामा पार्टीलाई चलाउनका लागि उम्मेदवारी दिएको विष्टले बताए।
त्यस्तै उपमहासचिव पदका उम्मेद्वार योगेश भट्टराईले पार्टीको पुरानै नेतृत्वप्रति धेरै प्रश्न उठेकाले नयाँ नेतृत्वका साथ पार्टीलाई अघि बढाउनुपर्ने बताए।
त्यसैगरी सचिव पदमा उम्मेदवार कर्ण थापाले अध्यक्षले नै टीमको घोषणा गरेकाले आफुहरु पनि छुटै टीम घोषणा गरिएको दावी गरे।
उनले अब सहमतिको सम्भावना नरहेकाले लोकतान्त्रीक विधि अनुसार नेतृत्व चयन हुने जिकिर गरे।
नेकपा एमालेको महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले छुट्टा छुट्टै टीम बनाएर चूनावी प्रतिष्पर्धामा उत्रिएका छन्।
एमाले नेतृत्व चयनका लागि मंगलबार निर्वाचन हुने कार्यतालिका रहेको छ। जसमा ओलीलाई उनका परम्परागत सहयोगीहरुले साथ दिइरहेका छन् भने पोखरेललाई ओली खेमा भन्दा बाहिरका नेतादेखि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पनि साथ र समर्थन रहेको बताइन्छ।
करिब दुई कार्यकाल देशको संवैधानिक राष्ट्राध्यक्ष भएर फर्किएकी एमाले पूर्व उपाध्यक्ष भण्डारीले गत वर्षदेखि नै पार्टीको सदस्यता नविकरण गर्दै पुनः पार्टी नेतृत्वमा फर्किएर सक्रिय राजनीति अघि बढाउने तयारी गरेकी थिइन्।
तर, गत भदौमा सम्पन्न पार्टीको विधान महाधिवेशनले भण्डारीको सदस्यतासँगै उनलाई सक्रिय राजनीतिमा फर्किन नदिने योजना बनाएपछि उनले पछिल्लो समय ओलीविरुद्ध उभिन पुगेका पोखरेललाई साथ दिन बाध्य भएकी हुन्।



