नेपाली कांग्रेसको केन्द्रीय कार्यालयले आसन्न महाधिवेशन अगाडि वितरणका लागि तल्लो तहमा पठाएको क्रियाशील सदस्यताको विषयप्रति असहमत बन्न पुगेका कांग्रेसका नेता शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्।
महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा रहेको सदस्यता व्यवस्थापन समितिले नयाँ क्रियाशील सदस्यता फारम प्रदेशमार्फत वडा तहमा वितरणका लागि पठाउँदा क्रम संख्या उल्लेख नै नगरी पठाएपछि यसले पार्टीभित्र पार्न सक्ने दूरगामी नकारात्मक प्रभावबारे सशंकित बन्न पुगका कोइरालाले मंगलबार सभापति देउवासँग भेटवार्ता गर्न पुगेका थिए।
कोइरालाका सहयोगी दिनेश थपलियाका अनुसार, केन्द्रीय सदस्य मीनेन्द्रप्रसाद रिजाललाई सभापति देउवालाई भेट्न पुगेका कोइरालाले क्रियाशील वितरण समितिले क्रम संख्याविनाका फारम जिल्ला–जिल्लामा पठाएको र यसले पार्टीभित्र देशभर जटिल समस्या उत्पन्न गरेको गुनासो गरेका थिए।
‘कोइरालाले बिना नम्बरका त्यी फारम तत्काल फिर्ता गरी नयाँ फारम पठाउँन निर्देशन दिन सभापतिलाई आग्रह गर्नु भएको छ,’ कोइरालाका सहयोगी थपलियाले भनेका छन्।
गत भदौ २३ गतेको नवयुवाहरुको प्रदर्शनमा भएको सुरक्षा कारबाही र त्यसको आडमा २४ गते भएको देशव्यापी विध्वंशको आक्रमणमा परेका सभापति देउवा पछिल्लो समय पार्टीको कार्यबाहक भूमिका उपसभापति पूर्णबहादुर खड्कालाई सुम्पिएर पार्टीको प्रत्यक्ष नेतृत्वबाट बाहिर बस्दैआएका छन्।
देउवासँगको छलफल र भेटवार्ताका क्रममा कोइरालाले क्रम संख्या नै उल्लेख नगरी पठाइएका क्रियाशील सदस्यता फारमका आधारमा महाधिवेशन प्रक्रिया सुरु हुनै नसक्ने तर्क राखेका थिए।
क्रियाशील सदस्यता व्यवस्थापन समितिमा समेत कुनै परामर्श नगरी केन्द्रीय कार्यालयबाट देशका विभिन्न जिल्लादेखि विदेशस्थित जनसम्पर्क समितिमा समेत नम्बरबिनाका सदस्यता फारम पठाएपछि पार्टीभित्र चर्को विवाद सुरु भएको थियो।

सुदूरपश्चिम प्रदेश कार्यसमिति सभापति बीरबहादुर बलायरले प्रदेशका नौवटै जिल्ला र मातहतका निकायमा क्रियाशील सदस्यता फारम भर्ने कार्य स्थगित गर्न निर्देशन दिएको बताइएको छ।
विगत तीन दशकदेखि नै कांग्रेसभित्र जहिलेपनि अधिवेशनको मुखमा क्रियाशील सदस्यता वितरणको विवादले पार्टीभित्र रडाको मच्चिँदै आएकोमा यसपटक क्रम संख्याविना नै केन्द्रबाट फारम पठाएपछि जसले जहाँ पनि मनलागी छपाई गरेर भर्न र अधिवेशनलाई प्रभावित पार्न सक्ने सम्भावना थप बलियो बन्दै गएको छ।
यसका अतिरिक्त नेता कोइरालाले गत असारमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकमा अनुशासन समितिले तयार पारेको अनुशासनको कारबाही सम्बन्धी प्रतिवेदनका आधारमा कारबाहीमा परेका जिल्लास्तरिय नेताहरुको विषयमा पनि देउवाको ध्यानाकर्षण गराएका थिए।
यसअघिको निर्वाचनपूर्वको चुनावी गठबन्धनका क्रममा भएको विषयलाई लिएर अनुशासनको कारबाही गर्न नहुने भन्दै कोइरालाले सभापति देउवाको ध्यानाकर्षण गराएको बताइएको छ।
नेता कोइरालाले अनुशासनको कारबाहीमा परेका सबैको कारबाही फुकुवा गरी पार्टी महाधिवेशन र आसन्न निर्वाचनमा खटिन सबैलाई निर्देशन दिन पनि सुझाव दिएका थिए।



