नेकपा एमालेको नयाँ अध्यक्षमा निवर्तमान पार्टी अध्यक्ष केपी शर्मा ओली (ह्याट्रिक गर्दै) पुनः तेस्रो कार्यकालका लागि निर्वाचित भएका छन्।
केही दिनअघिदेखि जारी पार्टीको ११औं राष्ट्रिय महाधिवेशनबाट नेतृत्व चयनका लागि बुधबार बिहानदेखि सुरु भएको मतदान प्रक्रिया आज बिहान झिसमिसेमा सकिएलगत्तै सुरु भएको मतगणनामा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले १६ सय ६३ मत प्राप्त गरी तेस्रो कार्यकालका लागि विजयी भएका हुन्।
अधिवेशनको प्रारम्भअघिदेखि नै अनेक विवाद र झमेलालाई चिर्दै ओलीविरुद्ध अध्यक्ष पदको प्रत्यासी बनेका पूर्व उपाध्यक्ष ईश्वर पोखरेलले जम्मा २२ सय २७ खसेको मतको २५ प्रतिशत हाराहारी अर्थात ५६४ मत प्राप्त गरी पराजित भए।
महाधिवेशनस्थल भृकुटीमण्डपमा बिहिबार अपरान्ह सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार, महासचिव पदमा पनि ओली पक्षबाट उम्मेदवार बनेका निवर्तमान महासचिव शंकर पोखरेल विजयी भएका छन्।
ईश्वरको समूहबाट महासचिव पदमा प्रत्यासी बनेका पार्टी नेता सुरेन्द्रप्रसाद पाण्डेलाई २३० मतको अन्तरले पराजित गर्दै शंकर महासचिव पदमा निर्वाचित भएका हुन्। अन्तिम मतपरिणाम अनुसार, महासचिव पोखरेलले १२ सय २८ मतकासाथ विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्धी पाण्डेले ९ सय ९८ मत प्राप्त गरी पराजित भए।
पाँच उपाध्यक्षका लागि भएको निर्वाचनमा ओली समूहका तीन उम्मेदवार क्रमशः पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद पौडेल र रामबहादुर थापा तथा ईश्वर प्यानलका गोकर्ण विष्टसँगै यसअघि ओलीसँग रहेपनि अधिवेशनको मुखमा उनीबाट रुष्ट बनेका रघुजी पन्त निर्वाचित भएका छन्।
ओली पक्षबाट प्रत्यासी बनेका ओलीका विश्वासपात्र गुरुबराल पराजित भएका छन्।
यसैगरी, तीन उपमहासचिव पदका लागि भएको निर्वाचनमा अध्यक्ष ओलीका अत्यन्त विश्वासपात्र विष्णु रिमाललाई पराजित गर्दै इतरपक्षका योगेश भट्टराई विजयी भएका छन् भने अन्य दुई पदमा ओली समूहकै लेखराज भट्ट र रघुबीर महासेठ निर्वाचित भएका छन्।
नौ सचिव पदका लागि भएको निर्वाचनमा सबै उम्मेदवार ओली समूहकै विजयी भएका छन्। यसरी विजयी हुनेहरुमा चर्चित नेता महेश बस्नेत, पद्धमा कुमारी अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, खगराज अधिकारी, हिक्मतकुमार कार्की, यमलाल कँडेल, राजन भट्टराई र भानुभक्त ढकाल रहेका छन्।
कुनै समयमा ओलीका अत्यन्त प्रिय र क्षमतावान नेताका रुपमा परिचित भएपनि पछिल्लो समय कटु आलोचक बनेका गोकुल बास्कोटा, कर्णबहाुदर थापा, कृष्णगोपाल श्रेष्ठ र अग्निप्रसाद खरेल पराजित भएका छन्।



