हिमाल दैनिक
सभापतिको उम्मेदवारी घोषणा गर्दै महामन्त्री थापाले भने, नियमित नभए विशेष महाधिवेशन हुन्छ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

सोमबार काठमाडौंमा काठमाडौँ क्षेत्र नं ६ का पार्टीका कार्यकर्ता तथा मतदातालाई सम्बोधन गर्दै महामन्त्री थापाले आफु पार्टीको आगामी महाधिवेशनमा सभापतिको उम्मेद्वार बन्ने जानकारी दिए।

पार्टी विधान बमोजिम क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक समेत रहेका महामन्त्री थापाले समयमा नै पार्टीको महाधिवेशन गर्न आफु क्रियाशिल रहेपनि बिभिन्न स्थानमा क्रियाशील सदस्यको काम ढिला भइरहेको गुनासो गरे।

यसअघि असोज २८ देखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा सबैकुरा छाडेर पार्टीको नियमित महाधिवेशन नभए तत्काल विशेष महाधिवेशन गर्ने अडानकासाथ महामन्त्री थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्मा प्रस्तुत भएपििछ चर्किएको विवाद सहमतिका आधारमा साम्य पार्दै मंसिर १५ गते सम्पन्न बैठकले पुस २६ देखि २८ गतेसम्म पार्टीको १५औँ महाधिवेशन गर्ने निर्णयसहितको कार्यतालिका पारित भएको थियो। 

उक्त कार्यतालिका बमोजिम सदस्यता व्यवस्थापन समितिले देशभरीका सबै वडा र बुथदेखि विदेशस्थित जनसम्पर्क समितिलाई सदस्यता नविकरणसँगै नयाँ क्रियाशील सदस्यता वितरणको प्रक्रिया निर्धारित कार्यतालिकाभित्र सम्पन्न गर्न असमर्थन बनेको थियो। विशेषगरी नयाँ सदस्यता फारम पठाउँदा पार्टी मुख्यालयबाट क्रम संख्याविनाकै साढे ४ लाख फारम पठाएपछि विवादमा परेको व्यवस्थापन समितिले उक्त निर्णय सच्याउँदै पुनः क्रम संख्यासहितको सदस्यता फारम पठाउन सुरु गरेपछि अधिवेशनको बाँकी कार्यतालिका पनि प्रभावित बन्न पुगेको छ। 

तर, महामन्त्री थापाले आफ्नो मातहतको समितिबाट भएको कमिकमजोरीलाई ढाकछोप गर्दै अपजसको भारी अरुमाथि नै थोपार्ने प्रयास गर्दै अहिले पनि केहि नेताले महाधिवेशन सार्ने कुरा गरिरहेको बताए।

एकातिर अधिवेशनको तयारीमा देखिएको व्यवस्थापकीय कमजोरी अर्कोतर्फ आम निर्वाचनको वातावरण सुनिश्चित गर्नका लागि राज्यका तर्फबाट गर्नुपर्ने न्यूनतम आधारभूत तयारी समेत नभइरहेको बेला महामन्त्री थापाले पार्टीको महाधिवशेन सम्पन्न नभइ आम निर्वाचनमा सहभागी नहुने अडान दोहोर्याए।

नियमित महाधिवेशनको कार्यतालिका स्वीकार गर्दैगर्दा त्यो नभए विशेष महाधिवेशन हुने अडानमा रहेका महामन्त्री थापाले आजको कार्यक्रममा पनि नियमित महाधिवशेनलाई अवरुद्ध गर्ने काम भए विशेष महाधिवेशनले भएपनि एउटा परिणाम निकाल्ने दाबी गरे।

त्यस्तै महामन्त्री थापाले संविधानलाई सही दिशामा ल्याउनका लागि फागुन २१ मा निर्वाचन हुनुपर्ने र संविधानलाई सही दिशामा ल्याउने प्रमुख जिम्मेवारी कांग्रेसले निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।

निर्वाचनपछि भ्रष्टाचार र कुशासन अन्त्यका साथै कुनैपनि संस्थालाई दलीयकरण गर्ने प्रवृत्तिलाई कांग्रेसले अन्त्य गरेर अगाडि बढ्ने उनको भनाइ छ। 

उनले निर्वाचनमा जाँदा यसअघि भएका कमजोरीप्रति जनतासमक्ष क्षमा माग्दै त्यसलाई नदोहराउने प्रतिवद्धता जनाउनुपर्ने बताए।

अव पनि तोकिएको समयमा निर्वाचन हुन नसके देश अनिश्चिततातर्फ धकेलिने खतरा रहेको बताए।

 

प्रकाशित मिति: सोमबार, पुस ७, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update