नेपाली कांग्रेसको गत मंसिर १५ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १५औं महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा गर्ने निर्णयसहितको कार्यतालिका पारित गरेको थियो।
तर, त्यहीबिचमा कांग्रेसका तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा लगायत पार्टीका केही असन्तुष्ट नेताहरुको अगुवाइमा गत पुस २७ देखि ३० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा देशभित्र र बाहिरबाट आएका महाधिवेशन प्रतिनिधिहरुको भेला गरियो।
जसलाई आयोजक पक्षले पार्टीको ‘दोस्रो विशेष महाधिवेशन’को नाम मात्रै दिएन, उक्त भेलाबाट करिब चार वर्षअघि १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सभापति शेरबहादुर देउवालाई अपदस्त गर्दै र पदाधिकारीसहितको कार्यसमितिलाई भंग भएको घोषणा पनि गरियो। साथसाथै नयाँ सभापति, उपसभापति, महामन्त्री लगायत अन्य पदाधिकारी तथा सदस्यहरुको चयन भएको स्वघोषणा पनि गरियो।
विशेषगरी भदौ २३ गतेको नवयुवाहरुको शान्तिपूर्ण प्रदर्शनमा राज्यका तर्फबाट भएको सुरक्षा कारबाहीमा भएको क्रुर नरसंहार र त्यसको आडमा २४ गते भएको देशव्यापी हिंसात्मक विध्वंशले निम्त्याएको राज्यविहिनता पश्चात विघटित प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पुरानो नेतृत्वलाई लिएर जनतामाझ जानै नसकिने दाबी गर्दै थापा र शर्माले उक्त अभियान चलाएका थिए।
यसरी आफूले चलाएको अभियानको अन्तिम निश्कर्ष र उपलब्धिका रुपमा पार्टीमा नयाँ नेतृत्व चयन भएको भन्दै निर्वाचन आयोगमा थापा र शर्मासहितको समूहले पार्टीको नयाँ नेतृत्वसहितको कार्यसमितिको निर्णय र अन्य कागजात बुझायो।
जसलाई निर्वाचन आयोगले पनि सामान्य परिक्षणविना नै हतार हतार अनुमोदन गर्दै एकपक्षिय रुपमा वैधानिकता दिएपछि कांग्रेस नेतृत्व सम्बन्धी विवाद अहिले अग्राधिकार प्राप्त मुद्दाका रुपमा सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा छ।
फागुन २१ गतेको निर्वाचनले राष्ट्रिय महत्व पाउँदा कांग्रेसको वैधानिकतामाथि उब्जिएको विवाद एकातिर अदालतमा विचाराधिन अवस्थामा छ भने अर्कोतर्फ ‘बदल्यौं कांग्रेस, बदल्छौँ देश’ भन्दै चुनावी मैदानमा उत्रिएको कांग्रेस–२.० अर्थात (कांग्रेस भाग दुई)ले निर्वाचनमा ऐतिहासिक सर्मनाक परिणाम व्यहोर्न बाध्य भयो।
निर्वाचनमा भएको उक्त परिणामबारे सम्बन्धित नेतृत्वले औपचारिक रुपमा समिक्षा गर्न बाँकी नै छ जसका बारेमा बेग्लै बहस गर्न सकिएला।
तर, ०७८ मंसिरमा सम्पन्न १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति सभापति शेरबहादुर देउवालाई अपदस्त गर्दै सिंगो पार्टीमा कब्जा जमाइरहेको कांग्रेस भाग दुईको नेतृत्वले अबको केही महिनाभित्रै विधिवत रुपमा पार्टीको १५औं महाधिवेशनको तहगत कार्यतालिका बनाउला। त्यसैका आधारमा ढिलो/चाँडो १५औं महाधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गर्दै पार्टीलाई अघि बढाउला भन्ने अपेक्षा स्वयं विशेष महाधिवेशनमा सहभागी प्रतिनिधिदेखि त्यसको विपक्षमा उभिएका नेता, कार्यकर्ता र शुभचिन्तकहरुले गर्नु अस्वाभाविक विषय होइन।
तर, कांग्रेस पार्टी नै बदलेको स्वघोषणा गर्दै पार्टी मुख्यालय सानेपामा पदासिन हुन पुगेको बदलिएको कांग्रेस नेतृत्वले पार्टी मात्रै होइन, आफू मातहतको पार्टी केन्द्रीय कार्यालयले पुरानो वेभसाइट पनि बदलेर हरियो पृष्ठभूमिमा व्यापक परिवर्तन गरिसकेको छ।
हुनत विगत लामो समयदेखि पुरानै ढर्रामा चल्दैआएको वेभसाइटमा १३औं अधिवेशनपछि गठित कार्यसमितिमा प्रवक्ताको जिम्मेवारी प्राप्त गर्न सफल तत्कालीन प्रवक्ता विश्वप्रकाश शर्माको पहलमा व्यापक फेरबदल गर्ने नाममा ‘हाँसको चाल न बकल्लाको चाल’ जस्तै स्थितिबाट गुज्रिदैआएको थियो।
तर, पछिल्लो समय बदलिएको कांग्रेसले त्यसलाई बदलेर नयाँ स्वरुप दिने कार्यको थालनी गरेको देखिन्छ।
यसरी नयाँ रंग र ढंगमा बदलिएको कांग्रेसको वेभसाइटभित्र जाँदा थुप्रै नविनतम् सोचकासाथ नयाँ नयाँ विषयवस्तु त हेर्न पाइन्छ नै। त्यो भन्दा ज्यादा अर्को बेग्लै र रहस्यमय विषयवस्तु पनि हेर्न पाइन्छ।
त्यो हो, पार्टीको १५औं महाधिवेशनको सन्दर्भ।
कांग्रेसको वेभसाइटमा राखिएको मुख्य पृष्ठमा खोल्दा त्यसमा ठूलो अक्षरमा कार्यक्रमहरु शीर्षकसँगै नेपाली कांग्रेसका आगामी र बितेका कार्यक्रमहरु अन्तरगत तीन वटा विषयवस्तु राखिएको छ। जसको पहिलो कार्यक्रमका रुपमा नेपाली कांग्रेसको प्रतिज्ञा सभा, जुन गत फागुन ६ गते जनकपुरमा सम्पन्न भएको देखिन्छ।
त्यसपछिको दोस्रो कार्यक्रम अन्तरगत प्रतिनिधि सभा निर्वाचन २०२६ को विवरण छ भने तेस्रो कोलममा नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशन सम्पन्न मिति २६ पौष २०८२ उल्लेख छ।
उक्त कोलममा खोलेर विस्तृत विवरणमा प्रवेश गर्दा कांग्रेसको १५औं महाधिवेशन पौष २६ (अंग्रेजीमा 26) गते नै काठमाडौंमा सम्पन्न भइसकेको र सहभागी व्यक्तित्वहरुमा गगन थापा, सभापति भनि उल्लेख गरिएको छ।
जब कि विशेष महाधिवेशनका नाममा आयोजित भेला गत पुसको २७ देखि ३० गतेसम्म भृकुटीमण्डपमा भएको थियो।
त्यतिमात्रै होइन, कार्यक्रमका बारेमा जानकारी दिन राखिएको तीन हरफको लेख पनि राखिएको छ। जसको पहिलो हरफमा भनिएको छ, ‘नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशन केन्द्रीय कार्यसमितिको औपचारिक निर्णयअनुसार काठमाडौंमा आयोजना गरिएको थियो।’
दोस्रो हरफमा भनिएको छ, ‘महाधिवेशनमा पार्टी नेतृत्व नवीकरण, संगठन सुदृढीकरण तथा आगामी निर्वाचन रणनीति मुख्य एजेण्डाका रुपमा रहेका थिए।’ यसैगरी तेस्रो तथा अन्तिम हरफमा भनिएको छ, ‘यो महाधिवेशन नेपाली कांग्रेसको आन्तरिक संरचना सुदृढीकरण र राजनीतिक दिशानिर्देशनका दृष्टिले महत्वपूर्ण मानिएको थियो।’
पार्टीको आधिकारिक वेभसाइटमा नै पार्टीको १५औं महाधिवेशन सम्पन्न भएको भनि राखिएको दस्तावेजबारे सोधिएको प्रश्नको जवाफमा कांग्रेस नेता मीनबहादुर विश्वकर्माले आश्चर्य प्रकट गरे।
पछिल्लो समयमा आफूले पार्टीको वेभसाइट नहेरेको बताउँदै संक्षिप्त प्रतिक्रिया दिँदै विश्वकर्माले भने, ‘जसरी विशेष महाधिवेशनका नाममा गैरकानूनी ढंगले पार्टीको नेतृत्व हामीले लियौं भन्दै पार्टीभित्र द्वन्द्धको श्रृजना गरिएको थियो अहिले त्यसैगरी पार्टीका दस्तावेजहरुमा पनि जालसाँजीपूर्ण ढंगले १५औं महाधिवेशन सम्पन्न गर्यौँ भन्दै किर्ते दस्तावेज राख्ने काम गरिएछ त!’

