हिमाल दैनिक
अपदस्त सभापति देउवा पक्षिय कांग्रेस नेताहरु रणनीतिक तयारी गर्न छलफलमा जुटे!

नेपाली कांग्रेसका अपदस्त सभापति सभापति शेरबहादुर देउवा पक्षले गत मंसिर १५ गतेको तत्कालीन कार्यसमिति बैठकले तय गरेको समयसीमाका अतिरिक्त गत आम निर्वाचनको समिक्षा र आफ्नो भावी रणनीतिबारे बृहत छलफलको आयोजना गरेको छ। 

पार्टीको १४औं महाधिवेशनबाट निर्वाचित सभापति देउवालाई गत भदौको नवयुवाहरुको विद्रोहको आडमा तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका महाधिवेशन प्रतिनिधिले गत पुसको अन्तिम साता एकपक्षिय ढंगले अपदस्त गर्दै विशेष महाधिवेशनको नाममा थापा नेतृत्वको नयाँ कार्यसमिति गठन गरी अघि बढेपछि निर्वाचन आयोग र सर्वोच्च अदालतले पनि वैधानिकता दिइसकेको अवस्थामा पार्टीबाट बलजफती किनारामा परेको देउवा समूहले आन्तरिक रणनीति तयारी थालेको हो।

तत्कालीन कार्यबहाक सभापति पूर्णबहादुर खड्काको अग्रसरतामा पूर्व पदाधिकारी, निवर्तमान केन्द्रीय सदस्य, प्रदेश सभापति र जिल्ला सभापति लगायतलाई आजदेखि सम्भवत बिहिबारसम्म सहभागी गराएर छलफल र निष्कर्ष निकाल्ने तयारीमा छलफलको आयोजना भएको पार्टी नेता मीनबहादुर विश्वकर्माले बताए।

मंगलबारबाट काठमाडौंमा सुरु पार्टीको १४ औं महाधिवेशनबाट चुनिएको केन्द्रीय सदस्य, जिल्ला सभापतिहरु र उपत्यकामा उपलब्ध क्षेत्रीय सभापतिहरुको विस्तारित बैठकबाट विशेष महाधिवेशनपूर्व गत मंसिर १५ गतेको केन्द्रीय कार्यसमिति बैठकले बैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा गर्ने भनि तय भएको महाधिवेशनको मिति नजिकिँदै गर्दा त्यसबारे के गर्ने र विशेष महाधिवेशनबाट वैधानिकता पाएको गगन थापा नेतृत्वको कार्यसमितिसँग के कसरी समन्वय गरी पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने भनि विस्तृत कार्ययोजना बनाउने तयारी भइरहेको बताए।

कांग्रेस नेता विश्वकर्माले विशेष महाधिवेशनअघि बैशाखमा तय भएको महाधिवेशनको समय आइसकेको अवस्थामा त्यसलाई नै एकताको अधिवेशन बनाउने अथवा के गर्ने, गत निर्वाचनको समिक्षा र देउवा पक्षका नेता, कार्यकर्ताहरुबिचको आपसी छलफलका आधारमा रणनीति तय हुने बताए।

विशेष महाधिवेशनले घोषणा गरेको थापा नेतृत्वको कार्यसमितिले भने १५औ महाधिवेशन आगामी असोज गर्ने निर्णय यसअघि नै गरिसकेको छ।

निर्वाचन आयोग र अदालतले गगन थापा नेतृत्वलाई वैधानिकता दिएपछि विशेष महाधिवेशनमा सहभागी नभएका नेता, महासमिति तथा महाधिवेशन प्रतिनिधिसँगै अन्य समर्थकहरुलाई क्रियाशिल बनाउदै परिचालन गरिने र सवैलाई समेटेर १५ औ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने गरि बैठकले आवश्यक निर्णय गर्ने विश्वकर्माले बताए।

उनले पार्टीलाई एकताबद्ध गर्ने सवालमा आफुहरु निरन्तर छलफलमा रहेपनि सभापति थापा पक्षबाट संवादको विन्दु नै प्रारम्भ हुन नसकेको बताए।

विशेष अधिवेशन र नियमित अधिवेशन पक्षधरहरूलाई मिलाएर १५ औ महाधिवेशनमा लैजानुपर्ने अहिलेको आवश्यकता रहेको उनको भनाइ छ।

विस्तारित भेलाबाट निर्वाचनको समीक्षाका साथै निर्वाचनमा पराजयको कारण खोज्ने उनले बताए।

विशेष महाधिवेशनबाट अपदस्त गरिएका कार्यबहाक सभापति खड्का, पूर्व पदाधिकारीहरु विमलेन्द्र निधि, शसांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, महालक्ष्मी (डिना) उपाध्याय, उमाकान्त चौधरी, सुजाता कोइराला, एनपी साउद लगायतका नेतादेखि निवर्तमान केन्द्रीय सदस्य, प्रदेश तथा जिल्ला सभापतिसहितको विस्तारित बैठक तीन दिनसम्म लम्विन सक्ने विश्वकर्माले जानकारी दिए।

 

प्रकाशित मिति: मंगलबार, वैशाख १५, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update