नेपाली कांग्रेसका अपदस्त सभापति शेरबहादुर देउवा पक्षीय नेताहरुको भेलाले तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको जिद्धिपूर्ण अभियान र गतिविधि नै राष्ट्रिय राजनीतिलाई धमिल्याउने र पार्टीलाई कमजोर बनाउने षडयन्त्रको पहिलो कदम भएको निष्कर्ष निकालेको छ।
कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित सभापति देउवा पक्षका उपसभापति एवं निवर्तमान निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा यहि वैशाख १५ र १६ गते काडमाडौंमा सम्पन्न पार्टी पूर्व पदाधिकारी, पूव केन्द्रीय सदस्य, प्रदेश तथा जिल्ला सभापति लगायतका नेताहरुको विस्तारित बैठकले ११ यस्तो निष्कर्ष निकालेको हो।
निवर्तमान कार्यबाहक सभापति खड्काले भेलाको निष्कर्षका रुपमा ११ बुँदे प्रेस विज्ञप्ति जारी गर्दै नवयुवा (जेनजी) विद्रोहको आडमा तत्कालीन महामन्त्रीद्वय थापा र शर्माले त्यसअघि आफैले राखेको प्रस्तावमा र निर्णय विपरित विशेष महाधिवेशनको जिद्धिपूर्ण अभियान चलाएर मुलुकसँगै पार्टीलाई कमजोर अवस्थामा ल्याउने षडयन्त्रको पहिलो कदम बन्न पुगेको आरोप लगाएका हुन्।
‘राजनीतिक षडयन्त्रको तानावानाका झलकहरु सजिलै अनुमान गर्दागर्दै पनि राज्य संयन्त्रका सम्बन्धित निकायहरुमा परेको प्रभावका कारण पार्टी एकता जोगाउन सकिएन र निर्वाचनको संघारमा नेपाली कांग्रेस छिन्नभिन्न हुने इतिहासकै सबैभन्दा दर्दनाक अवस्थामा पुग्यो,’ विज्ञप्तिको दोस्रो बुँदामा भनिएको छ।
गत पुसमा थापा र शर्माको अगुवाइमा सम्पन्न विशेष महाधिवेशनबाट अपदस्त गरिएको सभापति देउवाको धैर्यता, सहनशीलतासँगै अन्य नेताहरुको साथ र सहयोगले तत्काल पार्टी विभाजन हुनबाट रोक्न सफल भएपनि विभाजित मन जोड्न नसक्दा कांग्रेसविरुद्धको षडयन्त्रको उद्देश्य पूरा भएको विज्ञप्तिमा उल्लेख छ।
भदौ २३ गते अपरान्हपछि जुन शक्तिले जेनजी आन्दोलनलाई हाइज्याक गरि २४ गतेको देशव्यापी हिंसा, तोडफोड, आजगनी गरायो त्यसैको जगमा हालको शक्तिले निर्वाचनमा अनपेक्षित मत प्राप्त गरेको पनि बैठकको निचोड छ।
निर्वाचन आयोगको योजनाबद्ध र एकपक्षीय तरिकाले पार्टीको आधिकारिकता विशेष महाधिवेशनबाट घोषित सभापति थापालाई दिएकोमा आफूहरुले अपनाएको कानूनी र न्यायिक उपचारको लडाइमा अदालतले समेत संििवधान, दल सम्बन्धी कानून, दलको विधान एवं विगतका स्थापित नजिर अनुरुप न्यायिक निरुपण नगरेको उल्लेख गर्दै यसका बाबजूद विधिको शासन, स्वतन्त्र न्यायपालिकाको सम्मान गर्दै वैशाख ४ गतेको निर्णय मान्ने बताइएको छ।
यसैगरी निर्वाचनमा व्यहोर्नु परेको सर्मनाक पराजयको मुख्य जिम्मेवार विशेष महाधिवेशनको आयोजना र त्यसको अगुवाई गर्ने थापा र शर्मा नै भएको दावी पनि भेलाले गरेको छ।
पार्टीको पूर्ववत निर्णय अनुसार, महाधिवेशनको कार्यतालिका र क्रियाशील सदस्यता नविकरण र वितरणको कार्य पनि लगभग सम्पन्न भइसकेको अवस्थामा फेरि अध्यावधिका नाममा पूर्वाग्रही ढंगले पुरानो क्रियाशील सदस्यता खारेज गर्दै नयाँ नविकरण गर्ने, गराउने कार्य नगर्न, नगराउन पनि सबैमा आग्रह गरेको छ।
यसैगरी अभिव्यक्ति स्वतन्त्रताका लागि संघर्ष गर्दै आएको कांग्रेसको वर्तमान नेतृत्वले विभिन्न तहका नेताहरुले दिएको अभिव्यक्तिकै आधारमा स्पष्टिकरण सोध्न र अनुशासन कारबाहीको डण्डा चलाउने निरंकुश प्रवृत्ति तत्काल रोक्न पनि माग गरेको छ।
गत पुसमा एकपक्षीय ढंगले गरिएको ‘तथाकथित विशेष महाधिवेशन’बाट चयन भएको नेतृत्वले पार्टीको १५औं महाधिवेशनमा सम्पूर्ण पार्टी पंक्तिको सम्मानजनक सहभागितासँगै महाधिवेशनको निष्पक्षता असम्भव रहेको भन्दै बृहत्तर एकताको महाधिवेशनका लागि सहमतिका आधारमा साझा संरचनाको आवश्यकता रहेको पनि भेलाले निष्कर्ष निकालेको छ।
यसका साथै भेलाले पछिल्लो समय बढ्दो महंगी, कालाबजारी, कृत्रिम अभाव र सरकारको लाहप्रवाहीले आम जनतामा पर्न गएको असरलाई तत्काल न्यूनिकरण गर्न र जनताको दैनिक जनजिवन सहज बनाउने तर्फ सरकारको ध्यानाकर्षण गराएको छ।
साथै पछिल्लो समय सरकारले शैक्षिक संस्थालाई राजनीतिमुक्त बनाउने नाउँमा विद्यार्थी संगठनको गठन तथा गतिविधिसँगै अन्तर्राष्ट्रिय कानून बमोजिम स्थापना भएको ट्रेड युनियनको खारेजीको सम्बन्धमा लिएको निर्णयप्रति आश्चर्य व्यक्त गर्दै यसबाट उत्पन्न हुनसक्ने समस्या समाधानका लागि गम्भीर हुन पनि ध्यानाकर्षण गरेको छ।


