हिमाल दैनिक
बाहिर हल्ला आएपनि गगन पक्षबाट सहमतिको कुनै प्रस्ताव नै आएको छैनः नेता कोइराला
file photo

नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधानको सन्दर्भमा गगनकुमार थापा पक्षबाट बाहिर हल्ला गरिएअनुसार कुनै औपचारिक प्रस्ताव नआएको पार्टी नेता शेखर कोइरालाको सचिवालयले स्पष्ट पारेको छ। 

गत पुस÷माघदेखि नियमित कि विशेष महाधिवेशन भन्ने विवादले पार्टीभित्र स्पष्ट दुई खेमामा विभाजित हुने स्थितिमा पुगेको कांग्रेसमा सहमति र एकताका लागि कांग्रेस–२.० का सभापति थापा पक्षले असन्तुष्ट पक्षलाई ७ बुँदे प्रस्ताव पठाएर एकताका लागि प्रयास गरिरहेको समाचार प्रकाशित हुँदै आएको थियो।

तर, बुधबार बिहान पार्टी नेता कोइरालाको सचिवालयले बाहिर हल्ला गरिए अनुसार कांग्रेस संस्थापन पक्षले सहमतिका लागि सात बुँदे प्रस्ताव पठाएको भन्नेबारे डा. शेखर कोइराला र उनको सचिवालयलाई अहिलेसमम कहिँ कतै जानकारी नभएको बताएको छ। 

पछिल्लो समयमा नेपाली मिडियादेखि सामाजिक संजालमा अपदस्त सभापति शेरबहादुर देउवा र नेता कोइराला पक्षसँग सहमतिका लागि ७ बुँदे प्रस्ताव गगन थापा र विश्वप्रकाश शर्माले पठाउँदा पनि सहमतिको विन्दुमा आउन तयार नभइरहेको प्रचारबाजी हुँदैआएको छ। 

यस्तो प्रचारबाजीलाई खण्डन गर्दै कोइरालाको सचिवालयले भनेको छ, ‘यस्ता मनगढन्ते, कपोकल्पित र भ्रामक सूचनाको भ्रममा कोही नपर्नुहोला।’

साथै कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति बनेपछिका समयमा नेता कोइरालालाई प्रदिप पौडेलले चैत २२ गते र गगनकुमार थापाले वैशाख २२ गते कोइरालाको विशालनगरस्थित सचिवालयमा गएर भेट गरेको बताइएको छ। 
‘त्यस भनदा पछाडि कोही कसैसँग कुनै पनि संवाद र समपर्क भएकै छैन,’ कोइरालाको सचिवालयले भनेको छ। 

तर, थापा र उनको समूहका नेताहरुले पार्टी एकताका लागि आफूहरुले निरन्तर प्रयास गरिरहेको भएपनि असन्तुष्ट पक्ष सहमतिका लागि तयार नभएको भन्दै प्रचारबाजी गरिरहेको असन्तुष्ट पक्षको गुनासो छ।

 

प्रकाशित मिति: बुधबार, जेठ २७, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update