हिमाल दैनिक
मंसिर ४ को भन्दा बढी मत ल्याएर चितवन–२ मा रवि निर्वाचित

चितवन २ को आइतबार सम्पन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने अत्याधिक मतान्तरले विजयी भएका छन्।

मंगलबार अपरान्ह सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार, कुल ७८,२७७ मतमा लामिछानेले ५४ हजार १ सय २५ मत प्राप्त गरी निर्वाचित भएका हुन्।

निर्वाचन अधिकृतको कार्यालयले मतगणनाको औपचारिक घोषणा गर्न बाँकी छ।

लामिछानेले गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा भन्दा करिब ५ हजार मत ज्यादा ल्याएर उपनिर्वाचनमा पुनः निर्वाचित भएका छन्। यसअघि मंसिर ४ गते सम्पन्न निर्वाचनमा उक्त क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएर देशको उपप्रधान तथा गृहमन्त्री समेत बन्न सफल लामिछानेको नागरिकता सम्बन्धि विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासले अमेरिकी नागरिकता परित्याग गरेपछि ऐन र नियम बमोजिम नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको ठहर गर्दै उनको सांसद पदसँगै पार्टी अध्यक्ष पद समेत खारेज गरिदिएको थियो।

यसैगरी लामिछानेका प्रतिद्वन्द्धी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार २१५ मत प्राप्त गरेका छन् भने एमालेका रामप्रसाद न्यौपानेले जम्मा १० हजार ९३७ मत ल्याएर तेस्रो बनेका छन्।

श्रेष्ठ र न्यौपानेले यसअघिको निर्वाचनमा उक्त क्षेत्रबाट प्रत्यासी बनेका आफ्नै दलका उम्मेदवारहरुको भन्दा करिब ३ हजार मत कम प्राप्त गरेका छन्।

 

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १२:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update