हिमाल दैनिक
महालेखाको ५९औं प्रतिवेदनले नै भन्छः पशुपतिनाथ मन्दिरको सुनमा घोटाला भएको छ!

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पशुपतिनाथ मन्दिरमा लगाइएको सुनको जलहरीको विषयमा सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसदले दिएको अभिव्यक्तिलाई लिएर शुक्रबारको प्रतिनिधि सभा बैठकमा हंगामा मच्चाएको छ।

पूर्वनिर्धारित कार्यसूचि अनुसार, राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको ०८०÷८१ को नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले दिने तयारीमा बिहान ११ बजे बैठक बोलाइएको थियो।

तर, जेठ १० गतेको प्रतिनिधि सभा बैठकमा जारी नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा पशुपतिनाथ मन्दिरमा सुनको जलहरी लगाउने नाममा पित्तल लगाएर भ्रष्टाचार गरेको भनि दिएको अभिव्यक्तिलाई लिएर आजको बैठकमा एमालेले यसबारे सरकारले स्पष्ट जवाफ नदिएसम्म सदन चल्न नदिने भन्दै विरोध गर्दै नारावाजीसहित वेल घेराउ गर्यो।

जब कि पशुपतिनाथ मन्दिरमा भएको सुनको जलहरी हिनामिनाको विषय माओवादी सांसद दाहालले चालु संसदमा उठाउनु एक वर्ष अघि नै सरकारको महालेखा परिक्षकको कार्यालयले आफ्नो वार्षिक प्रतिवेदनमार्फत सार्वजनिक गरिसकेको विषय हो। जसबारे अख्तियारको नजर समेत परिसकेको छ।

यसरी वेल घेर्नु अघि एमालेका प्रमुख सचेतक गिरीदेखि एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङसम्मले आफ्नो पार्टी अध्यक्ष ओली प्रधानमन्त्री भएका बेला पशुपतिनाथमा लगाएको जलहरी सुन होइन पित्तल हो भनी सत्तारुढ दलका सांसद लेखनाथ दाहालले आरोप लगाएकाले त्यसको जवाफ नआउँदासम्म सदन अघि नबढ्ने भन्दै यसबारे सत्यतथ्य छानविन गर्न माग गरे।

साथै उनीहरुले माओवादी सांसदको भनाईप्रति आपत्ति प्रकट गर्दै उनको भनाई संसदीय रेकर्डबाट हटाउन र माफी माग्न मात्र होइन, सुनको जलहरी हो, होइन दूधको दूध पानीको पानी हुनेगरी छानविन गर्न पनि माग गरे।

तर, सुनको जलहरीको विषयमा महालेखा परिक्षकको कार्यालयले गत वर्षको असारमा सार्वजनिक गरेको आफ्नो ५९औँ प्रतिवेदनमा जलहरी बनाउन खरिद गरिएको सुन हराएको विवरण उल्लेख गरेको छ।

Auditor Gen's report1685093521.jpg

महालेखको प्रतिवेदनको पृष्ठ नम्बर ५१६ मा पशपति क्षेत्र विकास कोषले पशुपति शिवलिङ्गको गर्भगृहलाई पूर्ण रूपमा ढाक्ने गरी राखिने सुनको जलहरी निर्माण कार्यको लागि यो वर्ष नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन रू.८० करोड ११ हजारमा खरिद गरेकोमा विभिन्न शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिंक १२ किलो ७५० ग्रामसमेत प्रयोग गरी १०७ किलो ४९० ग्राम सुन कायम भएको उल्लेख छ।

उक्त प्रतिवेदनमा उल्लेख भए अनुसार, जलधारा, नाग, नागमूर्ति, सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ५१४ ग्राम रहेको र बाँकी रहेको सुन १० किलो ९७६ ग्रामको रिङ बनाई जलहरीमा लगाएको कोषले बताएको छ भएपनि ‘रिङ बनाउन कोषले रु. ७ करोड ९६ लाख ४६ हजारमा सुन खरिद गरेकोले जलहरी बनाएर बाँकी रहेको सुनको परिमाण रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुन नसकेको बताइएको छ।

यसरी पशिुपति मन्दिरमा सुनको जलहरी राख्ने योजनाको घोषणा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले ०७७ पुस ५ गते प्रतिनिधि सभाको विघटन गरेलगत्तै गरेका मात्र थिएनन्, उक्त कार्यका लागि रु ३० करोड रुपैयाँ दिने घोषणा समेत गरेका थिए।

सोही निर्णयका आधारमा पशुपति क्षेत्र विकास कोषले सुनको जलहरी निर्माण गरेर पशुपतिनाथको मूर्तिमा राखेकोमा करिब ११ किलो सुन हिनामिना भएको विषय सतहमा आएको थियो।

उक्त विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानविनका लागि उजुरी समेत परेको थियो।

यसबारे थप विवाद चर्किँदै गएको बेला तत्कालिन सरकारले ०७७ फागुन १२ गते नै तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीलाई विशेष कार्यक्रमको आयोजना गर्दै पशुपतिनाथ मन्दिरमा क्षमापूजा समेत गराएको थियो।

 

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update