हिमाल दैनिक
एमालेको नयाँ रणनीतिः सकेसम्म गठबन्धन भत्काउने, नसके राष्ट्रिय सभामा भाग खोज्ने!
file photo

राष्ट्रिय सभामा रिक्त हुन लागेको २० सिटमा यथास्थितिमा चुनाव हुँदा कुनै पनि स्थान सुरक्षित नहुने स्थितिमा पुगेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग मोलमोलाइको रणनीति अपनाएको छ।

केही दिनअघि सुरुमा कांग्रेसलाई २० स्थानमध्ये १३ स्थान लिएर बाँकी ७ स्थानमा एमालेलाई छाडिदिन एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको प्रस्तावबारे समाचार प्रकासित भएलगत्तै अध्यक्ष ओलीले माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालसँग राष्ट्रिय सभा सदस्यको निर्वाचनमा एमालेलाई पनि उचित स्थान दिनु पर्ने माग गरेको समाचार बाहिर आएको थियो।

विशेषगरी शान्ति प्रक्रियाका बाँकी रहेका कार्यभार टुंग्याउन भन्दै संसदमा लामो समयदेखि विचाराधिन अवस्थामा रहेका सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोग सम्बन्धी विधेयक सहमतिको माध्यमबाट टुंग्याउन पनि राष्ट्रिय सभा सदस्यको आगामी निर्वाचनमा एमालेलाई सत्ता गठबन्धनले स्थान दिनु पर्ने माग एमाले नेतृत्वले गरेको बालुवाटार निकट स्रोतले बतायो।

एमालेले संसदमा विचाराधिन विधेयक सहमतिका आधारमा सहजै टुंग्याएर उक्त विषयलाई टुंग्याउन विपक्षी दलको साथ र सहयोग चाहिन्छ भने राष्ट्रिय सभाको रिक्त स्थानमा एमालेले पनि उचित स्थान भागवण्डमा पाउनु पर्ने नभए सदनमा विधेयक पारित गर्नेदेखि अन्य कामकारबाहीमा विपक्षीको सहयोग नरहने धम्कीपूण बार्गेनिङ एमालेले गरेपछि बुधबार प्रधानमन्त्री दाहालले प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा बोलाएका थिए।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली र दाहालबीच भएको छलफलका क्रममा प्रमुख दुई सत्तासाझेदार दल कांग्रेस र माओवादी दलका नेताहरुले एमालेको प्रस्ताव्रप्रति आफूहरु सकारात्मक नै रहेपछि के कति स्थानमा एमालेलाई अटाउन सकिने वा नसकिने भन्नेबारे सत्ता साझेदार दलबीचको छलफल र सहमति पश्चात मात्रै टुंगो लाग्ने जानकारी ओलीलाई दिएको सत्तारुढ दल निकट स्रोतले बतायो।

एमालेको पछिल्लो प्रस्तावका विषयमा छलफल गर्न आजै प्रधानमन्त्री दाहाल र देउवाले सत्तारुढ दलका नेताहरुबीचको बैठक अपरान्ह ३ बजेका लागि तय गरेका छन्।

यसअघि सत्तारुढ कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी, नेपालका नेताहरुले गठन गरेको अनौपचारिक कार्यदलले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा सदनमा दलहरुको उपस्थितिका आधारमा कांग्रेसलाई ९, माओवादीलाई ६, नेकपा एसलाई ३ र जसपालाई १ स्थान दिनेबारे छलफल र सहमति हुन लागेको जानकारी बाहिर आएको थियो।

यसरी सत्ता साझेदार दलहरुबीच सबै प्रदेशमा सहमतिका आधारमा उम्मेदवार चयन भएको अवस्थामा ८ सिट गुमाउँदै गरेको एमालेले कुनै पनि स्थानमा आफ्ना उम्मेदवारलाई जिताउन नसक्ने अवस्था बन्दैथियो।

त्यस अवस्थामा राष्ट्रिय सभामा माओवादीको उपस्थिति संख्या पहिलो नम्बरमा र कांग्रेसको दोस्रो नम्बरमा हुने मात्र होइन, एमालेबाट फुटेर बनेको नेकपा एसको पनि एमालेकै सरह सांसद सदस्य संख्या रहन पुग्ने परिस्थिति बन्दैथियो।

तर, गठबन्धनबिच आन्तरिक अविश्वास र दुरी बढाएर दाहाल नेतृत्वको सरकार हटाउन लागिपरेको एमाले नेतृत्वले पछिल्लो समय माधवकुमार नेपालको दललाई आफू भन्दा ठूलो वा आफू सरहको दलको रुपमा रहन नदिने रणनीतिक चाल चलेर भएपनि कांग्रेस र माओवादी नेतृत्वसँग मोलमोलाईको राजनीति गर्ने कोशिश जारी राखेको छ।

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १४:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update