हिमाल दैनिक
माओवादीले चाहेमा राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्ष दुबै उसैैको पोल्टामा

राष्ट्रिय सभा अध्यक्षका लागि भोलि हुने निर्वाचनमा जितको सुनिश्चिततासहित पार्टी नेता नारायण दाहाललाई उम्मेदवार बनाएको सत्तारुढ नेकपा माओवादी केन्द्रलाई यसपटक भने भाग्योदय चिठठा नै पर्ने भएको छ।

माघ ११ मा सम्पन्न राष्ट्रिय सभा सदस्यको निर्वाचनपूर्व नेपाली कांग्रेससहितको सत्ता गठबन्धनबीच चुनावी तालमेल गर्दै ५ सिटमा सफलता हात पार्दै राष्ट्रिय सभामा पहिलो दल बन्न सफल भएको माओवादी पार्टीले भोलि अर्को सफलता हाँसिल गर्दैछ।

सुरुमा राष्ट्रिय सभा अध्यक्षमा कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई अघि सार्ने सहमति गरेर चुनावमा गएको माओवादी र यसको नेतृत्वले फागुन २१ गते विभिन्न बहाना बनाएर कांग्रेसलाई सत्ताबाहिर राख्दै नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी गराएको थियो।

नयाँ सत्ता समिकरण बनेसँगै माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सभाको अध्यक्ष पदका लागि आफ्नो दलका सांसद नारायण दाहाललाई अघि सारेपछि सत्ता गठबन्धनमा रहेका दलहरुले उनको समर्थन गर्नुको अर्को विकल्प रहेन।

मंगलबार बिहान ११ बजेपछि बस्दै गरेको राष्ट्रिय सभाको बैठकले भोलि नै माओवादी सांसद दाहाललाई राष्ट्रिय सभाको नयाँ अध्यक्षमा निर्वाचित पनि गर्दैछ।

त्यसपछि उक्त सदनमा अध्यक्ष र उपाध्यक्ष दुबै एउटै दल अर्थात नेकपा माओवादी केन्द्रकै नेता रहने लगभग पक्का छ।

यदि सत्ता साझेदार दलहरुबीच कुनै औपचारिक वा अनौपचारिक सहमति कायम भएर उपाध्यक्ष उर्मिला अर्याललाई पदबाट राजीनामा दिलाएर उक्त स्थानमा नेकपा एमाले अथवा नेकपा एकीकृत समाजवादी वा अन्य कुनै दलको सदस्यलाई उपाध्यक्ष बनाएको खण्डमा कुरो बेग्लै होला। अन्यथा आगामी दिनमा राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्ष दुबै नेकपा माओवादी केन्द्रकै रहने छन्।

हुनत नेपालको संविधानको धारा ९१ को उपधारा २ को व्यवस्था बमोजिम प्रतिनिधि सभाको सभामुख र उपसभामुख मध्ये एक जना महिला हुनेगरी फरक फरक दलको प्रतिनिधि हुनु पर्ने बाध्यकारी व्यवस्था गरेको छ। तर, राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षको व्यवस्था सम्बन्धि धारा ९२ को उपधारा २ ले अध्यक्ष र उपाध्यक्ष मध्ये एक जना महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरेपनि दल विशेषको सवालमा केही उल्लेख गरेको छैन।

Article 921710157023.JPG

अर्थात, उक्त उपधारामा राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षमध्ये एक जना महिला हुनु पर्ने भनिएपनि यसरी चयन हुने अध्यक्ष र उपाध्यक्षका प्रतिनिधित्व प्रतिनिधि सभाको सभामुख र उपसभामुखको चयन प्रक्रियामा जस्तो फरक फरक दलबाट हुने स्पष्ट व्यवस्था उल्लेख नगरेको अवस्थामा भोलिदेखि माओवादीका दाहाल र अर्याल राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षमा रहिरहन सक्नेछन्।

यसका अतिरिक्त, यदि सत्ता साझेदार दल वा अन्य कुनै स्थानबाट राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षको दलीय प्रतिनिधित्वको सवालमा प्रश्न उब्जिएको खण्डमा नेकपा माओवादी केन्द्रले यसको प्रतिरक्षा गर्न संविधानले नै अर्को विकल्प पनि दिएको छ।

अर्थात, यदि माओवादीले गठबन्धन भित्रैका दललाई उपाध्यक्ष पद दिन तयार नभएको अवस्थामा उसले यो पनि दाबी गर्न सक्ने छ र भन्ने छ कि, भोलि निर्वाचित हुँदैगरेका नयाँ अध्यक्ष दाहाल राष्ट्रिय सभामा नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर नभई संविधानको धारा ८६ को उपधारा २ को खण्ड (ख) बमोजिम सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित सदस्य हुन्। जसका लागि दलीय बन्धन लागू हुँदैन।    

 

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update