हिमाल दैनिक
प्रधानमन्त्री दाहाल संसदमा तेस्रो परिक्षामा पनि उत्तिर्ण, दाहालको पक्षमा, पक्षमा १५७ मत, विपक्षमा ११० मत

गत वर्षको पुस ११ गते प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले १५ महिनाको अवधिमै तेस्रो पटक संसदबाट विश्वासको मत लिएका छन्।

करिब ११ महिनाअघि तत्कालिन नेकपा एमालेसहितका दलसँगको सहकार्य छाड्दै नेपाली कांग्रेस लगायतका दलसँग सत्ता साझेदारी गर्दैआएका दाहालले फागुन २१ गते एकाएक गठबन्धनमा सहभागी दलका कुनै नेतालाई पत्तो नदिई पुनः नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीसँग सत्ता साझेदारीको सहमति गर्न पुगेका दाहालले कांग्रेसलाई सत्ता बाहिर पुर्याएपछि कांग्रेसले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको थियो।

कांग्रेसले संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रधानमन्त्री दाहालले विश्वासको मत लिनुपर्ने माग सभामुखसमक्ष गरेपछि आजको प्रतिनिधि सभा बैठकमा दाहालले विश्वासको मत मागसहितको प्रस्ताव राखेका थिए।

झण्डै ४ घण्टा लामो संसदको सवालजवाफपछि सभामुख देवराज घिमिरेले गरेको मत विभाजनका क्रममा प्रधानमन्त्री दाहालले एमाले, नेकपा एकीकृत समाजवादी, रास्वपा लगायतका दलसँगै केही साना र स्वतन्त्र सांसदको समर्थन पाए।

मतविभाजनको अन्तिम परिणाम सुनाउँदै सभामुख घिमिरेले आजको बैठकमा उपस्थित कुल २६८ सदस्यमध्ये १५७ जना सांसदले प्रधानमन्त्रीको प्रस्तावको पक्षमा मत दिएको जानकारी दिँदै दाहालले संविधान र कानूनी व्यवस्था अनुसार सरकारले विश्वासको मत पाएको घोषणा गरे।

प्रधानमन्त्री दाहालले गत वर्षको पुस २६ गते संसदमा विश्वासको मत माग्दैगर्दा २७५ सदस्यीय प्रतिनिधि सभामा २६८ अर्थात संसदको ९९ प्रतिशत सदस्यको विश्वास हाँसिल गरेका थिए। त्यसपछिको दुई महिनामा उक्त संख्या घटेर १७२ भएकोमा अहिले १५७ मा आइपुगेको छ।

प्रधानमन्त्री दाहालले ०७९ मंसिर ४ मा जनतासमक्ष मत लिने क्रममा गरेको बाचाबन्धन विपरितको गठबन्धन बनाएर जनतालाई धोका दिएको आक्षेप लगाउँदै कांग्रेसले विपक्षमा मत दिएको थियो।

प्रधानमन्त्री दाहालमाथि विश्वास छैन भन्दै कांग्रेसको साथमा राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदूर किसान पार्टीसहित ११० जनाले विपक्षमा मत दिएका थिए। प्रस्तावको पक्षमा मत दिन्न भन्ने पक्षमा जम्मा १ मत परेको थियो।

योसँगै प्रधानमन्त्री दाहालले विश्वासका लागि राखेको प्रस्ताव तेस्रो पटक लगातार अनुमोदन हुँदै आएको छ।

 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update