हिमाल दैनिक
बदलिएको कांग्रेसले बदल्यो वेभसाइटमा उल्लेखित १५औं महाधिवेशनको त्रुटिपूर्ण सन्दर्भ

बदलिएको कांग्रेस नेतृत्वमा रहेको नेपाली कांग्रेस केन्द्रीय कार्यालयको नयाँ वेभसाइटमा उल्लेखित १५औं महाधिवेशनको सन्दर्भबारे उल्लेखित जानकारी पार्टी मुख्यालयले हटाएको छ। 

पार्टीको पुरानो वेभसाइटमा व्यापक परिमार्जन गर्दै यसकाबारेमा विगतदेखि वर्तमानसँगै आगामी कार्यक्रमहरुको जानकारी दिने शीर्षक अन्तरगत राखिएको पार्टीको १५औं महाधिवेशनको सन्दर्भमा यसअघि पुस २६ गते नै सम्पन्न भइसकेको भन्दै जानकारी राखिएकोमा पार्टी मुख्यालयले उक्त जानकारीलाई मुख्यपृष्ठबाट हटाएको छ। 

corrected website1773734560.JPG

महाधिवेशनको सन्दर्भमा उल्लेखित तिथि, मिति, स्थान र पदाधिकारीको सन्दर्भमा पार्टीले गलत जानकारी राखेको समाचार हिमाल दैनिकमा सोमबार अपरान्ह सार्वजनिक भएलगत्तै उक्त सन्दर्भ हटाइएको हो।

बदलिएको कांग्रेस भाग २.० ले भन्छः पार्टीको १५औं महाधिवेशन पौष २६ मै सम्पन्न भइसक्यो!

यसअघि पार्टीका आगामी र वितेका कार्यक्रमहरुको सूचिमा पार्टीको प्रतिज्ञा सभा, प्रतिनिधि सभा निर्वाचन २०२६ र पार्टीको १५औं महाधिवेशनको सन्दर्भ राख्दै गत पुस २७ देखि ३० गतेसम्म भृकुटी मण्डपमा आयोजित विशेष महाधिवेशनको अघिल्लो दिन पुस २६ गते नै पार्टी केन्द्रीय कार्यसमितिको निर्णय अनुसार सम्पन्न भइसकेको विवरण राखिएको थियो।

जब कि पार्टीको मंसिर १५ गते सम्पन्न केन्द्रीय कार्यसमितिले फागुन २१ गतेको निर्वाचनलाई ध्यानमा राख्दै पार्टी महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा गर्ने निर्णयसहितको कार्यतालिका पारित गरेको थियो।

यसका अतिरिक्त नयाँ वेभसाइटमा महामन्त्रीको रुपमा प्रदिप पौडेलको बारेमा जानकारी दिने क्रममा पार्टीका वरिष्ड नेता र महासचिव भनेर उल्लेख गरिएको छ। 

 

प्रकाशित मिति: मंगलबार, चैत ३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update