हिमाल दैनिक
एकै जिल्लामा किन पहिरो
sindhupalchok-nagpuje-pahiro_20200913153102
सिन्धुपाल्चोकमा मनसुनको सुरुआतदेखि नै बाढीपहिरो गइरहेको छ। जनधनको क्षति पनि उही जिल्लामा बढी भएको देखिन्छ। भूकम्पले थिलथिलो भएको जमिनमा विकास संरचना विपद्मैत्री नहुँदा पहिरोका घटना धेरै भएको गृह मन्त्रालयका अधिकारी बताउँछन्। उपसचिव मुरारी अवस्थी भूकम्पले थिलथिलो भएको ठाउँमा जथाभावी डोजरको प्रयोग गरेर विकास निर्माण गर्दा क्षति बढी भएको देखिएको बताउँछन्। ‘स्थानीय तहको विकास र त्यसको भूजटिलताबीच तादात्म्य मिलेन। विकासका संरचना विपद्मैत्री भएनन्। त्यसैले धेरै क्षति भयो’, मन्त्रालयअन्तर्गत राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका इन्चार्ज अवस्थी भन्छन्, ‘भवन र सडक निर्माण गर्दा मापदण्डको ख्याल नगर्दा पनि धेरै घटना भएको हो।’ उनका अनुसार भिरालो र जोखिमयुक्त ठाउँमा बस्ती भएकाले क्षति धेरै भएको हो। ‘मनसुन कम हुने समयमा बाढीपहिरोका ठूला–ठूला घटना भएका छन्। कम हुन्छ भनेको अझ बढिरहेको छ’, उनी भन्छन्। सिन्धुपाल्चोकको बाह्रबिसे र बागलुङका पछिल्ला घटना अप्रत्याशित रहेको उनी बताउँछन्। सिन्धुपाल्चोकका भोटेकोसी र बाह्रबिसेमा असार २५ गते पहिरोले ४ जनाको मृत्यु भएको थियो। भोटेकोसीमै साउन १ गते पहिरो जाँदा एकै परिवारका ५ जनाले ज्यान गुमाए। मेलम्चीमा साउन १९ गते पहिरोमै १० को मृत्यु भयो भने १ जना घाइते भए। जुगल–२ लिदीमा साउन ३० गते आएको पहिरोमा सबैभन्दा बढी क्षति भयो। त्यहाँ ३७ जनाले ज्यान गुमाए भने २ बेपत्ता छन्।
प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७  ००:००
प्रतिक्रिया दिनुहोस्
Weather Update