हिमाल दैनिक
गणतन्त्रवादीविरुद्ध लड्न उत्रिएका नवराज सुवेदी अन्ततः राप्रपाका अध्यक्ष लिङदेनसँगै पाे भिड्न थाले!

गणतान्त्रिक शासन व्यवस्थालाई उल्टाएर मुलुकमा हिन्दु राजतन्त्रको पुनस्र्थापनाको उद्घोष गर्दै चार महिनाअघि गणतान्त्रिक शक्तिविरुद्ध सडक संघर्षको नेतृत्व लिन पुगेका पूर्वपञ्च नवराज सुवेदी अन्ततः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनसँगै भिडन बाध्य भएका छन्।

गत फागुनको सुरुवातमा पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतमा देखिएको भिडबाट उत्साहित बनेका विघटित राष्ट्रिय पञ्चायतका अध्यक्ष सुवेदीले चैत ४ गते राजतन्त्रको पुनस्र्थापनाका लागि जनआन्दोलनको नेतृत्व गर्ने उद्घोषसँगै राप्रपाको साधारण सदस्यता समेत परित्यागको घोषणा गरेका थिए।

राप्रपाको सदस्यता परित्याग गरेको घोषणा गर्दै अब आफ्नो बाँकी जीवनको बल, वर्कत र बुता लगाएर आन्दोलनलाई नयाँ उचाइमा लग्ने र आफ्नै जीवनकालमा मुलुकमा राजतन्त्र फर्काएरै छाड्ने समेत घोषणा गरेका थिए।

यसरी पार्टी सदस्यता नै परित्याग गरेको सार्वजनिक घोषणा गरेका सुवेदीलाई राप्रपा अध्यक्ष लिङदेनले पार्टी केन्द्रीय अनुशासन समितिको संयोजकबाट हटाएर पार्टी नेता रोशन कार्कीलाई जिम्मेवारी दिएपछि भने पार्टी सदस्यता छाडेका उनै सुवेदी लिङदेनविरुद्ध हार गुहार गर्न निर्वाचन आयोगको शरणमा पुगेका छन्।

राप्रपाभित्र लिङदेन विरोधी खेमामा रहेका पार्टी नेता प्रकाशचन्द्र लोहनी, महामन्त्री धवलशम्शेर राणा, सगुन लावती लगायतका नेताहरुलाई साथ लिएर आइतबार बहादुर भवनस्थित निर्वाचन आयोगको कार्यालयमा लौरो टेक्दै पुगेका सुवेदीले आफूलाई पार्टी अध्यक्ष लिङदेनले पार्टी विधान र प्रक्रियाविपरित अनुशासन समितिबाट पदमुक्त गरेको भन्दै उजुरी दर्ता गराए।
 
राप्रपाका अध्यक्ष लिङदेनले केन्द्रीय अनुशासन समितिका अध्यक्ष सुवेदी र प्रवक्ता सगुन लावतीलाई जिम्मेवारीबाट मुक्त गरेपछि असन्तुष्ट नेताहरुले निर्वाचन आयोगमा उजुरी दिएका हुन्। 

निर्वाचन आयोगमा दर्ता गराइएको उजुरीपत्रमा पार्टीको अध्यक्षको एकल निर्णयले पदावधि अगावै हटाउने र हटाएको स्थानमा अर्को व्यक्तिलाई नियुक्त गर्ने अधिकार विधानले नदिएको भन्दै सुवेदीले आफूसँगै लावतीको पद यथावत कायम गरिदिन आयोगसमक्ष निर्देशनात्मक आदेशको याचना गरेका छन्।

आयोगमा उजुरी दर्ता गरेपछि अनुशासन समिति अध्यक्षबाट पदमुक्त हुनुभएका सुवेदीले पार्टी अध्यक्षले आफुलाई जानकारी नदिइ पदबाट हटाउदा अन्याय भएकाले आयोगमा उजुरी दिन आएको बताए।

पार्टी फुटोस् भन्ने आफ्नो चाहना नभएको भन्दै उहाले पार्टीभित्र भइरहेको षड्यन्त्रबिरुद्ध आवाज उठाएको जिकिर पनि गरे।

त्यस्तै राप्रपाका नेता लोहनीले विधानबिपरितको निर्णय कुनै हालतमा मान्य नहुने दाबी गर्दै आफुहरु एकताबद्ध पार्टी बनाउनुपर्छ भन्ने पक्षमा रहेको र राजसंस्थाको पुनस्र्थापनाका लागि भइरहेको आन्दोलन निष्कर्ष पुर्याउन लागि पर्ने बताए।

गत फागुन २५ गते पूर्व राजा ज्ञानेन्द्र शाह पोखराबाट राजधानी फर्किँदा त्रिभुवन विमानस्थलदेखि निर्मल निवाससम्म ठूलो भिड उपस्थित हुँदै राजाको पक्षमा नारावाजी गरेका थिए।

उक्त भिडको उपस्थितिबाट उत्साहित बनेका सुवेदीले चैत ४ गते सार्वजनिक कार्यक्रममार्फत अब आफू राष्ट्रिय प्रजातन्त्र पार्टीको सदस्य नरहेको घोषणा समेत गरेका थिए।

राजतन्त्र र हिन्दु राज्यको वकालत गर्दै आएको राप्रपा र यसको नेतृत्वकर्ता लिङदेनसँग कुनै परामर्श नगरी एकाएक राजावादी आन्दोलनको कमाण्डर बन्दै पार्टी सदस्यता परित्याग गरेका सुवेदीले आन्दोलन परिचालन समितिमा समेत आफूखुशी सदस्यहरु राखेपछि लिङदेन लगायतका नेताहरु असन्तुष्ट बन्न पुगेका थिए।

त्यतिमात्रै होइन, राजावादी आन्दोलन परिचालन समितिको कार्यालयसमेत राप्रपा नेपालको कार्यालयमा राख्दै लिङदेनलाई भन्दा बढी महत्व कमल थापादेखि दुर्गा प्रसाई र जगमान गुरुङलाई दिएर गणतन्त्रवादी शक्तिलाई लल्र्कान तयार देखिएका सुवेदी अहिले लिङदेनविरुद्ध पनि एक्लै भिड्न नसकेर केही नेताहरुको साथमा निर्वाचन आयोगको साथ खोज्दैछन्।

चैत १५ को तीनकुनेमा भएको हिंसात्मक घटनापछि केही दिन आफ्नै निवासमा नजरबन्दको अवस्थामा रहेर वक्तव्य मार्फत जगमान गुरुङलाई आन्दोलनको संयोजक बनाएका थिए। 

तर उनले पनि जेठ १५ को दोस्रो चरणको आन्दोलनको नेतृत्व गर्न नसकेपछि राजावादीहरुको आन्दोलन रत्नपार्कमा सीमित भएको थियो।

यसरी रत्नपार्कको सीमित सुरक्षाघेराभित्र पर्दा तुहिन पुगेको राजावादी आन्दोलन त्यसको केही दिनपछि अर्को चरणको आन्दोलन घोषणा गर्न आयोजित ४४ दलीय मोर्चाको औपचारिक कार्यक्रम आफैँमा भाँडभैलो हुन पुगेपछि स्वतः समाप्तिको अवस्थामा पुगेको थियो।

निर्वाचन आयोगकी प्रवक्ता निता पोखरेल अर्यालले प्राप्त निवेदनमाथि अध्ययन गरेर आवश्यक निर्णय लिइने जानकारी दिएकी छन्।

 

प्रकाशित मिति: आइतबार, असार २९, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update