नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले नेपालमा ऊर्जा बिकासका लागि सबै किसिमको सहजीकरण र समन्वय गर्न आवश्यक रहेको बताएका छन्।
मंगलबार काठमाडौंमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को २३औ बार्षिक साधारण सभालाई सम्बोधन गर्र्दै सभापति देउवाले ऊर्जा क्षेत्रको बिकासमा निजि क्षेत्रले खेलेको भूमिका निकै महत्वपूर्ण रहेको भन्दै ऊर्जा बिकासका लागि सरकारले सबै किसिमको सहजीकरण र समन्वय गर्न आवश्यक रहेको बताएका हुन्।
सरकारका साथै निजी क्षेत्रले समेत ऊर्जा उत्पादन गरेकै कारण मुलुक र जनताले लोडसेडिङको समस्या भोग्नु नपरेको उल्लेख गर्दै सभापति देउवाले जलविधुत क्षेत्रमा निजि क्षेत्रको लगानीलाई सरकारले प्रोत्साहन गर्नुपर्नेमा समेत जोड दिए।
साथै उनले कांग्रेस नेतृत्वको सरकारकै पालामा उपप्रधानमन्त्री एवं जलस्रोत मन्त्रीका रुपमा पार्टी नेतृ शैलजा आचार्य रहेकैबेला जलविद्युत उत्पादन कार्यमा निजी क्षेत्रको सहभागिता र लगानीलाई खुला गर्ने नीति अबलम्बन गरेको गरेको तथ्य स्मरण गरे।
सोही नीतिकै कारण अहिले उर्जा उत्पादनमा निजी क्षेत्रको ठूलो लगानी र योगदान रहन सफल भएको उनले बताए।
यसका अतिरिक्त उर्जा उत्पादनको क्षेत्रमा भएको अर्बौँ लगानीलाई परिणाममुखी बनाउँन कार्यान्वयनका क्रममा देखिएका जटिलतालाई थप सहजीकरण गर्न जरुरी रहेको धारणा पनि देउवाले राखे।
उनले भारत लगायतका छिमेकी मुलुकसँग उर्जा व्यापारको माध्यमबाट आयआर्जन गर्न सकिने सम्भावनाबारे चर्चा गर्दै यसभन्दा पहिले स्वदेशी उद्योग, कलकारखानामा आवश्यक जलविद्युत प्रवाहको सुविधालाई सुनिश्चित गराउन आवश्यक रहेको पनि बताए।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले नेपालको ऊर्जा क्षेत्रलाई दिगो विकासको बाटोमा अघि बढाउन सरकार दृढतापूर्वक लागिपरेको जानकारी पनि दिए।
मन्त्री खड्काले आगामी १० वर्षमा २८ हजार पाच मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहितको कार्ययोजना अनुसार काम अघि बढिसकेको बताए।
ट्रान्समिसन लाइन पुगेको ठाउँमा विद्युत उत्पादन गर्न दिनु पर्ने प्रधानमन्त्रीको नीति अनुरुप पिपिए भएको उल्लेख गर्दै उनले उत्पादनका क्रममा देखिएका अवरोध हटाउन वन मन्त्रालयसँग पनि निरन्तर छलफल र समन्वयको प्रयास जारी राखेको बताए।
मन्त्री खड्काले ऊर्जा क्षेत्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै सरकारले सुरक्षित लगानी वातावरण तयार गरेर निजी क्षेत्रलाई साझेदार बनाउन कुनै द्विविधा नरहेको बताए।
ऊर्जा उत्पादनमा आत्मनिर्भरता हासिल गरेर मुलुकलाई समृद्ध र आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ।
कार्यक्रममा इप्पानले हाल निजी क्षेत्रले विभिन्न चरणमा ३४ हजार ४८४ मेगावाट क्षमताका ७२५ ऊर्जा आयोजना अघि बढाइरहेको जानकारी गराएको छ।