
भारतीय चर्चित फिल्म निर्देशक राजकुमार हिरानीको निर्देशनमा आमिर खान अभिनित एउटा लोकप्रिय र चिर्तित फिल्म छ – पीके।
पीके अलग्गै ग्रहबाट आएको अवोध पात्र हुन्छ। उसको आफ्नो मातृ गहसँगको सम्पर्क स्थापित गर्ने संचार उपकरण हुन्छ। तर, त्यो उपकरण हराएपछि पीके त्यसको खोजीमा भौँतारिँन थाल्छ। डुल्दै जाँदा कहिले मन्दिरमा, त कहिले चर्च र मस्जिदमा पुग्छ। जीवनमा भोग्ने, नभोग्ने सबै हण्डर खाँदै उपहासमा ‘पीके’ नाम प्राप्त गर्छ।
आफ्नो ग्रहमा फर्कने माध्यम नै लुटिएपछि भौतारिएको पीके एक दिन अचानक धार्मिक सभामा पुग्छ। जहाँ, उसको लुटिएको उपकरण देख्छ। तर, ती साधु भेषधारी धर्मिक व्यवसायिले आफूले हिमालय गएर शिवजीको तपस्या गरेको र शिवजी प्रशन्न भएर ‘आफ्नो फुटेको डम्बरुको टुक्रा हो यसलाई लिएर जा’ भन्दै दिएर पठाएको दावी गर्छन्। र, शिवजीकै निर्देशन अनुसार त्यसलाई एउटा भव्य मन्दिरमा स्थापना गर्न र दर्शनले मात्रै पनि भक्तहरु दुःख, दर्दबाट मुक्ति पाउने भनेर पठाइएको दावी गर्छन्। त्यही दावीसहित त्यो उपकरण देखाएर साधु भेषाधारी बाबाले थुप्रै अन्धभक्तहरुलाई मोहित बनाएका हुन्छन्।
तर, आफ्नो हराएको उपकरण देखेर पुलकित बनेको पीकेले आफ्नो उपकरण फिर्ता माग्छ। बदलामा साधुसन्तका सुरक्षाकर्मीले उसलाई जबरजस्ती त्यहाँबाट घिसार्दै सडकमा फालिदिन्छन्। यो त भयो फिल्मको एउटा पूर्वांश।
०००
नेपाली समाजमा व्याप्त वेरोजगारी, कुशासन, भ्रष्टाचार र व्यथितीबाट आजित हुँदै यसबाट मुक्ति खोजिरहेका नेपालीहरुको दशा हेर्दा पीकेको भन्दा खासै फरक छैन। उनीहरुको चिन्ता र चाहना भनेकै कसरी नेपाल र नेपालीको भलो हुनसक्दछ भन्नेमा केन्द्रित छ। तथापि शासन व्यवस्था, पात्र र प्रवृत्ति कस्तो आवश्यक पर्ला भनि ठम्याउन सकेको स्थिति देखिदैन।
पीकेको साधुपात्रकै (सकेसम्म साधु पात्रको नाम राखौ है) शैलीमा यहाँ पनि निराशामा रुमल्लिएका जनतालाई केही धर्मभिरु देखि पूर्वराजावादी र पूर्वपञ्चहरुको समूहले राजतन्त्रलाई पीकेको सम्पर्क यन्त्र झै मोक्षको मार्गका रुपमा देखाउँदै अन्धभक्त बनाउने कोशिश जारी राखेका छन्।
अन्धभक्त बनाउने अभियानको केन्द्रमा आइपुगेका छन् –पूर्वराजा ज्ञानेन्द्र शाह। जसले गत फागुन ७ गतेको प्रजातन्त्र दिवसको अवसरमा देशवासीका नाममा सन्देश दिँदै अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्पमा २५० वर्ष अघिदेखि नेपालमा चलिआएको शाहवंशीय राजतन्त्रात्मक शासन व्यवस्थाको पुनस्थापनाका लागि आफूलाई साथ दिन आग्रह गरेका छन्।
आफै ज्ञानेन्द्रलाई पीकेको संचार उपकरण देखाउँदै बसेका राजावादी ज्ञानेन्द्र नै आह्वानमा उत्रिएपछि दुरुत्साहित छन्। ज्ञानेन्द्रको दुरुत्साहनबाट प्रेरित पूर्वराजावादीले ुमहापञ्चु नवराज सुवेदीको नेतृत्वमा समुह गठन गरेका छन्। संयुक्त जनआन्दोलन परिचालन समिति नाम दिइएको उक्त समुहमा गणतन्त्रमा पटक–पटक उपप्रधानमन्त्री, मन्त्री र सांसद बन्दै राज्यकोषबाट राज्य कोषको लाभ उठाएका देखि पूर्वपञ्चसम्म छन्। राज्यकोषको भरणपोषणा लिएर प्यवस्थामा प्रश्न उठाउने राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता, कार्यकर्तासँगै मार्सी भातबाट गणातन्त्रवादी रिझाएर ुमेडिकल व्यवसायीु बनेका दुर्गा प्रसाईंसम्म छन्। व्यवसायबाट मालामालको योजना बनाएर प्रतिफलको बदला घाटैघाटाले निराश र हतास प्रसाई मात्र होइन, गणतान्त्रिक शासनकालमा सबै दलका नेतालाई रिझाएर पद र प्रतिष्ठा प्राप्त गर्न सफल व्यक्ति जगमान गुरुङ पनि अन्धभक्त परिचालनमा सक्रिय छन्।
उनीहरुमध्ये गुरुङ तिनै पात्र हुन् जसले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अघिल्लै कार्यकालमा रिझाएर प्रज्ञा प्रतिष्ठानदेखि गण्डकी विश्वविद्यालयसम्मका नियुक्ति लिएका थिए। उनै गुरुङले भगवान रामको जन्मस्थल भारतको अयोध्या नभए चितवनको ठोरी रहेको तथ्यहिन दाबी गर्न लगाउँदै अयोध्यापुरीमा तामझाम गराएर लाभ लिएका थिए। भारतसँग नेपालको कुटनीतिक सम्बन्धलाई समेत धूलिसात पार्न कस्सिएका उनी अहिले पूर्वराजालाई नारायण मन्दीरमा लगेर भगवान नारयणको मूर्तिलाई धम्कि दिदै ज्ञानेन्द्र रिझाउन लागिहेका छन्। नारायणहिटिको नारायण मन्दीरमा ज्ञानेन्द्रको दर्शन गराउँदा बाजाथाजासहित प्रचार गरेका उनले भगवान नारायणओलाई तलाई संरक्षणा गर्ने हो भने राजतन्त्र फर्का भन्दै ज्ञानेन्द्रका अघि चिच्याएका थिए।
गत फागुन २५मा पोखराबाट राजधानी फर्किन लागेका ज्ञानेन्द्रलाई देश निकालाबाट फर्किएकै शैलीमा विमानस्थल देखि निर्मल निवाससम्म मानिस उतारेर उत्साहित बनेका उनीहरु त्यसयता आन्दोलनबाटै राजतन्त्र ल्याउने उद्घोपषा गरिरहेका छन्।
चैत १५ गते तीनकुनेमा राजतन्त्र र हिन्दु राज्यको स्थापनाका लागि विरोध कार्यक्रमका नाममा मच्चाएको हिंसात्मक उपद्रोले काठमाडौंमा अनपेक्षित क्षति व्यहोर्नु परेको घटना अझै सेलाइसकेको छैन।
उक्त अपराधिक उपद्रव मच्चाएको घटजनापछि अनेक चिरा र ध्रुवमा रहेका पूर्वपञ्च र राजावादी समर्थकहरुले जेठ १५ गते गणतन्त्र दिवसको छेको पारेर राजसंस्था र हिन्दुराज्य स्थापनाका लागि निर्णायक आन्दोलनको घोषणा गरेका छन्। जसको तयारीमा उनीहरु जुट्दै गर्दा उनीहरुको भोलिदेखि सुरु हुने आन्दोलनको स्वरुप चैत १५ गतेकै जस्तो हुने हो वा के कस्तो भन्ने आशंकाले नेपाली समाज चिन्तित छ।
विगत केही समयदेखि बेलाबखतमा निर्मल निवासमा बोलाएर आफ्ना अनुयायीहरुलाई दर्शनभेटसँगै भरी पेट खुवाएर आफ्नो पक्षमा दह्रोसँग लड्न उक्साउँदै ज्ञानेन्द्र भने आफू पूर्वतिर हानिएको खबर छ।
त्यहीबिचमा ‘अवस्था बदल्न, व्यवस्था बदलौँ’ भन्ने नारासहित राजतन्त्रात्मक हिन्दु राज्यको मुद्दा बोकेर भोलिदेखि आन्दोलनमा आउने तयारीमा रहेका पूर्वपञ्च र राजावादीहरु भने स्वयं आफैँमा विभाजित र अलमलमा छन्।
त्यसको सुरुवात केही दिनअघि राजतन्त्र र हिन्दुधर्मको वकालत गर्दै आएको एक मिडियामार्फत सार्वजनिक भएकै थियो। जहाँ वर्तमान सत्तासाझेदार दल नेपाली कांग्रेसमा कुनै अवसर नपाएर हिन्दु राष्ट्र महाअभियान गठन गरी त्यसैको सहसंयोजक रहेका लोकेश ढकाललाई हवाला दिएर ‘संवैधानिक राजसंस्थाप्रति लचिलो बन्दै कांग्रेस र हृदयन्द्रलाई राजा मान्न सभापति शेरबहादुर देउवा तयार’ शीर्षकको समाचार प्रकाशित गरियो। लोकेश तिनै पात्र हुन् – कांग्रेस सभापति शेरबहादुर देउवासँग कुनै पहुँच छैन।
उक्त समाचारले गुमेको राजगद्दी ताकेर जिब्रो मिठ्याइरहेका ज्ञानेन्द्रलाई झस्काउनु पर्ने हो। तर, जगमानले भगवान नारायणलाई हप्काउँदा मख्ख परेर हेर्ने ज्ञानेन्द्र झस्किए कि उत्साहित भए बुझन कठिन छ। अन्तर्य र मर्म बुझ्नेहरुलाई भने समाचारले फरक प्रश्न उठायो – राजावादीहरुले कस्तो राजतन्त्र चाहेका हुन् वा कसलाई स्थापित गर्न खोज्दैछन्?
यता मंगलबार राजावादी पूर्वपञ्च र राप्रपाका शीर्ष नेताहरुको उपस्थितिमा आयोजित सम्पादक सम्मेलनमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले त्यही आशंकालाई मलजल गर्दै प्रस्ताव अघि सारे।
राजतन्त्र र राजसंस्थाको बारेमा थापाको भनाई छ – राजा ज्ञानेन्द्रका नाती हृदयन्द्र तयार भइसकेकै छन्। २०, २१, २२ वर्ष भइसकेपछि अब उनलाई राष्ट्रले सहमति गरेर सबैको राष्ट्रिय सहमति हुन्छ भने मलाई लाग्छ, त्यो राजा ज्ञानेन्द्र पनि सहमत हुनुपर्ने स्थिति आउँछ। यदि राष्ट्रिय सहमति कायम गरेर हृदयन्द्रलाई राजा बनाउने, राजसंस्था कायम गरौँ भन्ने भयो भने राजा पनि सहमतिमा आउनु पर्छ नि! त्यो त आफ्नो ठाउँमा छ, तर अहिले हामी पात्रको चाइने छलफल गरिराखेकै छैनौ।’
थापाले अगाडि थप्दै भने, ‘हाम्रो अब चाहीँ हुन्छ, के भने, बुझाउँ कतिलाई? गाह्रो पनि पर्छ। राजसंस्था भनेको केबल पात्र मात्र होइन। राजसंस्थासहितको प्रजातन्त्र 'इन इट सेल्फ इज एन आइडिया' यो आफैँमा एउटा विचार हो। यहाँ केबल एकजना व्यक्तिलाई केन्द्रविन्दुमा राखेर हामी सोच्न थाल्यौँ भन्देखुन् त राजसंस्था कसरी विचार हुन्छ भन्ने कुरा त आउँछ। तर, हामीले अवलम्बन गरेको राजसंस्था भनेको आफैँमा एउटा विचार हो। त्यसका सर्टेन भ्याल्युजहरु छन्, सर्टेन नर्मस्हरु छन् र जुन कुरालाई हामीले सिद्धान्तको रुपमा लिएर हिँडेका छौँ।’
हुनत, थापाको उक्त भनाइप्रति न कुनै पत्रकार वा अन्य कुनै नेताहरुले वादप्रतिवाद वा टिप्पणी कार्यक्रमस्थलमा गरे न त अन्यत्र आफ्ना लेख, रचनाबाट सार्वजनिक नै गरे।
तर, थापाको भनाइको अन्तर्यलाई हेर्ने र बुझ्ने हो भने, भोलिदेखि सुरु हुन लागेको भनिएको आन्दोलन पूर्वराजा ज्ञानेन्द्रको चाहना र योजना मुताबिक भएपनि उनको भाग्य र भविश्यप्रति केन्द्रित, लक्षित छैन।
किन भने, अहिले आन्दोलनको अग्रमोर्चामा उभिने तयारीमा रहेका पात्र र प्रवृत्तिहरुका यी परस्पर विरोधाभासपूर्ण भनाई र गराइमा शाहवंशीय राजतन्त्रको इतिहास, परम्पराको कुनै साइनो छैन।
यदि कसैले शाह वंशीय हिन्दु राजसंस्थाको इतिहास र परम्पराको वकालत गर्दै अहिले पनि सकेसम्म ज्ञानेन्द्र र नभए उनका नाती हृदयन्द्रको नाम अघि सार्दछ भने, त्यो केबल इतिहासमाथिको ठाडो अपव्याख्या वा भ्रमको खेतिमात्रै हो। पीके फिल्मको स्वामी जस्तो।
हुनत, नेपालमा लम्जुङका राजा यशोब्रम्ह शाहका कान्छा छोरा द्रव्य शाहको लिगलिगकोट दौडपछि स्थापना भएको शाहवंशीय राजसंस्थाको स्थापित परम्परालाई इतिहासमा बहुलाहा राजाको उपनामले परिचित रणबहादुर शाहकै पालादेखि अन्त्य गरिएको हो। जहाँ बिबाहिता स्वजातिय जेठी श्रीमतीबाट जन्मिएको जेठो छोरा अर्थात राजराजेश्वरी देवीका जेठा छोरा रणोद्योतको सट्टा तिरहुतबाट सदविज छर्न पशुपति आएकी विधवा ब्राह्मणी कान्तिमतीको डेढ वर्षे छोरा गीर्वाणयुद्धलाई राजा बनाउँदै शाह वंशीय परम्परालाई क्रमभंग पारिएको थियो।
त्यसवेला नै समाप्त भएको राजतन्त्रलाई पुरोहितहरुले इतिहासमा बुझ्न सकियोस् भनेर नै होला सायद, द्रव्य शाहदेखि रणबहादुरसम्मका कुनै राजाको नाममा विक्रम नजोडिएकोमा रणबहादुरले दल, बल र छलको प्रयोगबाट क्रमभंग गर्दै गीर्वाणलाई राजा बनाएपछि त्यो क्रमभंगतालाई प्रष्ट्याउन नामको पछाडि विक्रम जोडिदिएको हुन सक्दछन्।
त्यसयताको समयपछि चलिआएको चलन पनि २०५८ साल जेठ १९ गतेको रहस्यमय राजदरबार हत्याकाण्डसँगै समाप्त भएको हो। त्यसका बाबजूद त्यतिबेलाको राजनीतिक नेतृत्वले सकेसम्म राजतन्त्रलाई जोगाउने उद्देश्यमा अर्को क्रमभंगता गर्न पुग्यो र ज्ञानेन्द्र दोस्रोपटक गद्दीमा पुगेका थिए। जो राजधर्म र विवेकको अभावमा चरम राजनीतिक महत्वकांक्षाको शिकार हुँदा निगाहमा प्राप्त नागर्जुन र निर्मल निवासमा थन्किएर बस्न बाध्य छन्।
अहिले फेरि उनमा त्यो गद्दी र श्रीपेचप्रतिको जिजिबिषा मौलाउन थालेको छ। त्यही मौलाउँदै गरेको जिजिबिषामा आफ्नो भाग्य र भविश्य खोज्दैछन् इतिहासले रछ्यानमा मिल्काइएका पूर्वपञ्च र मण्डलेहरु।
तरपनि न त उनीहरुमा राजतन्त्र वा राजसंस्थाप्रति कुनै आडभरोसा छ, न उनीहरुप्रति ज्ञानेन्द्रको विश्वास नै। त्यसैले हुनसक्छ, ज्ञानेन्द्रले पनि आफ्नो चाहनाबमोजिम सुरु हुन लागेको आन्दोलनको नेतृत्व कहिले विघटित राष्ट्रिय पञ्चायतका अध्यक्ष नवराज सुवेदीलाई त कहिले केपी ओली र पुष्पकमल दाहाललाई मार्सी भोज खुवाएर मेडिकल व्यवसायमा मोज गर्ने असफल योजना बनाएका दुर्गा प्रसाईलाई। पदका लागि दलका नेताको ढोका चाहारेर जीवनको उत्तराद्र्धमा कट्टर हिन्दु र राजसंस्थाका हिमायती बनेका जगमान गुरुङलाई आन्दोलनको कमाण्डरको नेतृत्व सुम्पिनु। अनि कमल थापाहरुले हृदयन्द्रको नामलाई वैकल्पिक राजाको रुपमा अघि सार्नु र लिङदेनहरु यसबारे मौन बस्नु यही विरोधाभासका परिणाम हुन्।
होइन भने, राजतन्त्रको मन्त्र जपेर राजनीतिको मैदानमा कहिले गाई, कहिले हलो त कहिले हलोलाई ताछेर तीरलाई एमालेको जेरीपुरी र खिरको चास्नीमा डुबाउँदै राजनीतिको भविश्य खोज्दै हिँडिरहेका राजेन्द्र लिङदेन, कमल थापा वा अरु कसैले लामो बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्पमा राजगद्दी र त्यसमा कसलाई स्थापित गर्न खोजिरहेका छन् भन्नेमा अलमलपूर्ण व्यवहार र गतिविधि नै देखिँदैनथ्यो होला।
एकातिर, विगतमा सबैखाले जायज, नाजायज व्यापार, व्यवसाय, धन्दा र काण्ड चलाएर रहस्यमय हत्याकाण्डपछि अपुतालीमा फेरि राजा बन्ने अवसर पाएका ज्ञानेन्द्र जो आफू पुनः राजगद्दीमा फर्किएर पुरानै शान सौकतको शासन चलाउने सपना देखिरहेका छन्। अर्कोतर्फ उनैको सपना र चाहनालाई टुकुचामा सेलाउँदै अनुचरहरु हृदयन्द्रको नाम विकल्पका रुपमा अघि सार्दैछन्।
यसैले प्रष्ट हुन्छ कि, उनीहरुको चाहना भनेको राजतन्त्र र हिन्दु राज्यको नाममा आफ्नो राजनीतिक अस्तित्व नेपाली समाजमा स्थापित होस् र सकेसम्म पञ्चायतकालमा जस्तै गर्वेतन्त्रको आडमा मण्डलेराज चलाउन पाइयोस्। त्यो नभए बहुदलीय शासनकालमा जस्तै सत्ताको भत्तामा भविश्यमा पनि हिस्सा भोग गर्न पाइराखियोस्।
आफ्नो यहि अतृप्त उद्देश्य प्राप्तिका लागि अहिले पूर्वपञ्च र गर्वेतन्त्र प्रेमीहरुको राजभक्ति वा धर्मगाथा चलिरहेको छ। जुन राजकुमार हिरानीको पीके फिल्मको ढोंगी पात्र स्वामीको भन्दा खासै अन्तर छैन।
जसलाई पीकेले अन्त्यमा सार्वजनिक मिडियामार्फत ढोंगी स्वामीले समाजमा भय र त्रास फैलाउँदै ‘रंग नम्बर’को साहारामा सर्वसाधारणलाई झुक्याएर ठगिरहेको सावित गर्दै नंग्याएर आफ्नो उपकरण फिर्ता लिन्छ। त्यस्तै नेपाली राजनीतिमा पनि यी गर्वेतन्त्रप्रेमी ढोंगीहरुलाई कसले र कहिले नंग्याइदेला मिति अनिश्चित छ।